
बैंकिङ खबर/ निरन्तर चार पटकसम्म ‘हेर्न नभ्याइने’ सूचीमा परेको गभर्नर नियुक्ति विवादको सुनुवाइ अब आइतबार मात्र हुने भएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्ने भएको हो । बिहीबार र शुक्रबार बन्दी प्रत्यक्षीकरण र अति जरुरी रिटबाहेकका मुद्दामा सुनुवाइ नहुने भएको छ ।
उक्त विवाद अति जरुरीमा नपरेको भन्दै यसअघि चार दिनसम्म लगातार ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । गभर्नर नियुक्तिसम्बन्धी रिट र त्यसमा दायर पूरक निवेदन गत वैशाख ५ गते सर्वोच्चमा दर्ता गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका थिए ।