Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यसरी अगाडि बढ्दैछ दुर्गा प्रसाईंमाथि बैंकिङ कसुरको मुद्दा

२०८२ बैशाख ८ गते


बैंकिङ खबर/ विगतदेखि नै बैंकवित्तविरुद्ध लागिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता गराइ अनुसन्धान गरिरहेको छ । ब्युरोले चैत्र १७ गते प्रसाईंविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन (मनी लाउन्डरिंग), २०६४ मा मुद्दा दर्ता गरेको ब्युरोले जनाएको छ । उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति लिइ प्रसाईंविरुद्ध थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रसाईं र उनको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा उद्देश्य विपरीत उपयोग गरेको आरोप छ । उनी र उनको परिवारको खातामा शंकास्पद कारोबारहरु भएको समेत देखिएको बताइएको छ । नेपाल राष्ट्र बैंकले माघ २३ मा अनुसन्धान गरी कारबाही गर्न ब्यहोराको पत्र पठाएको थियो ।

बैंक र वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेको प्रयोजनभन्दा अन्यत्र कर्जाको रकम उपयोग गरी कर्जा दुरुपयोग गरेको, विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको, प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघि कर्जाको बक्यौता साँवा ब्याज भुक्तानी नियमित नभएको, परियोजनालाई आवश्यक पर्नेभन्दा बढी कर्जा उपयोग गरेको लगायतका दर्जनौं आरोप राष्ट्र बैंकले प्रसाईंमाथि लगाएको छ ।

कति छ दुर्गां प्रसाईको ऋण ?

नेपाल राष्ट्र बैंकका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेण्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आईएमईबाट १ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् । यी सबै बैंक तथा वित्त कम्पनीबाट लिएको ऋणको साँवा–ब्याज चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रसाईंले बैंकलाई करिब साढे ६ अर्ब रुपैयाँ भुक्तानी गर्न हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

जसले बैंकवित्तविरुद्ध पटक–पटक अवाफह फैलाए

दुर्गा प्रसाईंले भारतमा हुँदा फेसबुकबाट भिडियोहरु सार्वजनिक गर्दै आएका थिए । पछिल्लो भिडियोमा उनले आफ्नो आन्दोलन, बैंक, लघुवित्त र सहकारीकाविरुद्धमा रहेको बताउँदै आएका छन् । उनले विगतमा बैंक डुब्ने हल्लादेखि ऋण नतिर्ने अभियान अलाउँदै आएका थिए ।

प्रसाईंकै कारण कति ठाउँमा बैंकवित्तका कर्मचारीमाथि कुटपिट भएको छ भने कति ठाउँमा कालोमोसो दलिएको छ । उनले आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गरिरहे । ती संस्थाहरुका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पु¥याउने जस्ता अराजक क्रियाकलाप उनी संलग्न हुँदै आएका थिए ।

सामाजिक सञ्जालमार्फत बैंकिङ क्षेत्रलाई लक्षित गर्दै विभिन्न समयमा भ्रामक सूचना फैलाइए । नेपालका बैंकहरुविरुद्ध २०७९ बाटै मेडिकल व्यवसायी प्रसाईं बैंकको किस्ता नतिर्ने अभियानमा लागि रहेका थिए । उनले बैंकका कर्मचारी कर्जा असुल्न आउँदा कालोमोसो दल्न कार्यकर्तालाई अभिप्रेरित गरे । जाजरकोटबाट सुरु भएको यो अभियान एनआईसी एशिया लघुवित्तका कर्मचारी किस्ता असुल गर्न जाँदा कालोमोसो दलियो ।

त्यसको १६ दिनपछि अर्थात् २०७९ चैतमा म्याग्दीको एनआईसी एशिया बैंकको शाखाका २ जना कर्मचारी पर्वतमा कुटिए । केही दिनअघि मकवानपुरमा कुमारी बैंकका कर्मचारीमाथि अभद्र व्यवहार भएको थियो । यस्तै धनगढीमा एनआईसी एशियाकै शाखा कार्यालय अगाडि प्रदर्शन गर्दै ‘नो डिपोजिट’ अभियान चलाइएको थियो । एनआईसी एशिया बैंक दुर्गा प्रसाईं र उनका समर्थकको निशानामा थियो । कुमारी बैंकमाथि पनि प्रहार भइरहेको थियो ।

जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा धरपकड, सांघातिक हमला तथा कार्यालयमा तालाबन्दी भएको थियो ।

व्यवसायी दुर्गा प्रसाईंलगायतले सामाजिक सञ्जालमार्फत् बैंकविरुद्ध लागिरहे । कर्जाको किस्ता नतिर्न, कर्मचारीलाई कालोमोसो दल्न, कार्यालय तोडफोड गर्न कार्यकर्तालाई उक्साइरहे । यसैबीच २०८० मंसिरमा नेपाल इन्भेस्टमेन्ट बैंकको बिर्तामोड शाखा प्रबन्धकलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले अपहरण गरेका थिए ।

२०८० पुसमा नेपाल इन्भेस्टमेन्ट बैंकका ऋणाीले बैंक लुट्नेदेखि कर्मचारीको घरमा बम पड्काउने सम्मका धम्की दिएका थिए । २०८१ वैशाखमा दुर्गा प्रसाईंकै कार्यकर्ताले झापाको बिर्तामोडमा एभरेष्ट र ज्योति विकास बैंकको शाखामा तोडफोड गरे ।

२०८१ वैशाखमै मुगुमा एनआईसी एशिया बैंकको शाखामा तोडफोड भएको थियो । २०८१ भदौमा बाजुराको गौमुलेमा कुमारी बैंकको शाखा तोडफोड भयो । २०८१ पुसमा एनआईसी एशिया बैंकका २ कर्मचारीमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भयो । २०८१ पुसमा सिराहा र जनकपुरमा बैंकका कर्मचारीलाई हातपात भयो ।

सामाजिक संजालबाट उत्तिकै आक्रमण

अराजकहरुले बैंकविरुद्ध सामाजिक सञ्जालमा लेखिरहे । कहिले ‘बैंक डुब्छ, डुब्दैछ’, कहिले बैंकको नामै लेखेर ‘अब ढल्छ’, कहिले बैंकको नामै तोकेर ‘यो बैंकको खातामा निक्षेप छ भने तुरुन्त झिकिहाल्नुस्’ जस्ता स्ट्याटस फेसबुक लगायत सामाजिक सञ्जालमा लेखिरहे ।

झापामा आयोजितक कार्यक्रममै उनले भने, ‘बैंकहरुलाई जता भेट्यो, त्यतै कालो मोसो दल्नु । यो तरिकाले बैंकहरु भोलिदेखि बन्द हुन्छन् । अब यी टाई लगाएका गुण्डाहरुले होसियार हुँदा हुन्छ ।’ झापामा आयोजित कार्यक्रममा प्रसाईंले निजी क्षेत्रका बैंकबाट पैसा निकालेर सरकारीमा राख्ने तर कारोबार नगर्ने, सामान आयात नगर्ने, मालपोत तथा राजस्व पनि नतिर्ने अभियान हुने बताएका थिए । ‘म केही दिनमा बाहिर (विदेश) जाँदै छु, रेमिट्यान्स पनि नपठाउन आग्रह गर्नेछु,’ उनको घोषणा थियो ।

बैंक तथा वित्तीय संस्थाबाट करिब ५ अर्ब रुपैयाँ ऋण लिएको सार्वजनिक गरेका उनले तिनका कर्मचारीलाई लक्षित गर्दै आक्रमण गर्ने घोषणा समेत गरे । जसका लागि झापामा २ सय १ सदस्यीय युवा दस्ता पनि उनले तयार पारेको बताए । जसमा २०–२१ वर्षका युवा रहेको उनले बताएका थिए । उनले २० लाखभन्दा कम हुनेको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण ६ प्रतिशतभन्दा धेरै ब्याजदरमा लिन नहुने बताउँदै आएका छन् ।

को हुन् प्रसाईं

पूर्वी पहाडको तेह्रथुमबाट झापा झरेका प्रसाईंको परिवार सामान्य आर्थिक अवस्थाको थियो । खेतीपाती गरेर जीविकोपार्जन चलाउँथ्यो । प्रसाईले ८ कक्षाभन्दा बढी पढेका छैनन् । उनले कलिलै उमेरमा विवाह गरे । केही समय प्रसाईं ग्रिल फ्याक्ट्रीमा काम गरेका उनी रोजगारीका लागि यूरोप पनि पुगे । यूरोपमा धेरै समय टिक्न नसकेपछि स्वदेश फर्किए । विदेशमा भैंसी फार्ममा काम गरेका अनुभवले प्रसाईंले बिर्तामोडमा व्यावसायिक रूपमा भैंसी पाल्न थाले ।

प्रसाईले भारतको हरियाणाबाट उन्नत जातका भैंसी किनेर फार्म शुरू गरेको स्थानीय बताउँछन् । त्यतिबेला प्रसाईसँग सयओटा जति भैंसी थिए । प्रसाईले दूधसँगै भैंसी पनि बेच्थे । नेपालमा मात्र नभएर उनको फार्मबाट उत्पादित दूध मेची नदीपारि भारतसम्म पुग्थ्यो । बैंकबाट ऋण लिएर शुरू गरेको भैंसीपालन केही समय राम्रैसँग चले पनि पछि चलेन । प्रसाईले बैंक ऋणको साँवाब्याज नियमित तिर्न सकेनन् । थप ऋण माग्न जाँदा बैंकले पत्याएनन् । अन्ततः प्रसाईको भैंसीपालन व्यवसाय डुब्यो ।

शुरूमा नेपाली कांग्रेसमा आबद्ध रहेका प्रसाईं व्यवसाय डुबेपछि त्यतिबेला भूमिगत अवस्थामै रहेको नेकपा माओवादीमा लागेका थिए । पारिवारिक अंशका लागि मुद्दा लडिरहेका आफ्ना सालालाई सहयोग गर्न प्रसाईले ससुराविरुद्ध माओवादी छापामार प्रयोग गरेको उनलाई चिन्नेहरूको भनाइ छ । अदालतमा लामो समयदेखि छिनोफानो हुन नसकेको मुद्दामा माओवादी त्रासका कारण ससुरा अंश दिन तयार भए र प्रसाईका सालाले जग्गा पाए । उक्त जग्गा पाएपछि प्रसाईको भाग्य चम्कियो ।
सालासँग मिलेर जग्गा प्लटिङ गरी धुरको ५ लाख रुपैयाँसम्ममा बेचेपछि उनले थुप्रै धन आर्जन गरेको जानकारहरूको भनाइ छ । यसरी कमाएपछि प्रसाईले काठमाडौंमा पनि जग्गाको कारोबार गरे । भक्तपुरमा आलिसान घर बनाए । सोही घरमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि प्रसाई राष्ट्रिय स्तरमै चर्चामा आए ।

उनले बीएन्डसी मेडिकल कलेजका साथै थुप्रै व्यवसायमा हात हालेको बताइन्छ । नेकपाको विघटनपछि नेकपा (एमाले) प्रवेश गरेका प्रसाईलाई एमाले नेतृत्वले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । त्यसपछि माओवादी अध्यक्ष दाहालको चर्को आलोचना गर्दै प्रसाईंले चुनावअघि ५ लाख मान्छे एमालेमा प्रवेश गराउँछु भन्न थाले । उनले मेडिकल कलेज चलाउन खोजे पनि डा. गोविन्द केसीले आन्दोलन गरेका कारण मेडिकल कलेजको लाइसेन्स पाउन सकेको थिएन ।

संयुक्त अरब इमिरेट्सका राजकुमारलाई नेपाल भ्रमणमा ल्याएर उनीबाट सुनको छडी उपहार पाएको भनेर पनि प्रसाईको चर्चा भयो । प्रसाईले फागुन १ गते पूर्वराजपरिवारका सदस्यलाई साक्षी राखेर राजसंस्था पुनःस्थापनाका लागि भन्दै मेचीपुलबाट अभियान शुरू गरेको घोषणा गरेका थिए । बैंक तथा वित्तीय संस्थालाई गालीगलौज गर्दै हिँडे पनि उनले आफ्नो व्यवसायका लागि भने तिनै वित्तीय संस्थाबाट कर्जा लिएका छन् ।