
बैंकिङ खबर/अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्डविरुद्ध दायर रिटको पेसी संयुक्त इजलासमा परेको छ ।
सोमबार उक्त रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको पेसीमा तोकिएको छ । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो ।
यसअघि सर्वोच्च अदालतले संशोधित मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्चमा दायर गरेको रिटमा वैशाख २ गते सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एक्ल इजलासले अल्पकालीन अन्तिम आदेश जारी गर्दै कारण देखाऊ र अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।
रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा मुद्दाको पेसी अन्तिमतिर परेकाले हेर्न भ्याइने सम्भावना भने न्यून देखिएको छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्न लागिएको चर्चाबीच सर्वोच्च अदालतमा पुरक निवेदन पनि दर्ता भएको छ । गभर्नर नियुक्ति सम्बन्धी मापदण्ड संशोधनविरुद्धको रिट दायर गरेका उप्रेती र थापाले शुक्रबार पूरक निवेदन दिएका थिए । उक्त पूरक निवेदन आजको इजलासमा पेस हुने छ । उक्त पुरक निवेदनलाई ग्रहण गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय इजलासले गर्ने छ ।