
बैंकिङ खबर/ बैंकवित्तीय संस्थाविरुद्ध अराजकता फैलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अर्बौं रुपैयाँ ऋण दुरुपयोग गरेको अभियोगमा उनीमाथि अनुसन्धान सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकको अनुरोधमा सिआईबीले ऋण दुरुपयोग गरेको अभियोगमा उनीमाथि अनुसन्धान सुरु गरेको हो।
अघिल्लो वर्षदेखि ‘बैंकको ऋण मिनाह’ आन्दोलन चलाइरहेका प्रसाईं पछिल्लो समय राजसंस्था पुस्र्थापन जागरण अभियानमा छन्। पछिल्लो समय काठमाडौं तिनकुनेमा भएको राजावादी आन्दोलनको ‘जनकमाण्डर’ तोकिएको प्रसाईंलाई गत साता प्रहरीले प्रकाउ गरिसकेको छ।
प्रहरी हिरासतमा रहेका प्रसाईंले बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको अशंकामा राष्ट्र बैंकले अनुसन्धानको लागि सिआईबीलाई आग्रह गरेपछि अनुसन्धान सुरु भएको हो। व्यवसायी प्रसाईंले बैंकबाट झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएण्डसी अस्पताल, होटल र हाउजिङलगायतका विभिन्न परियोजनामा लगानी गर्ने भनेर २०६८ सालयता विभिन्न बैंकहरुबाट कर्जा लिएका छन्। राष्ट्र बैंकको वित्तीय जानकारी इकाइबाट प्रसाईंमाथि अनुसन्धान गर्न पत्र गएको हो।
प्रसाईंले लिएको कतिपय कर्जा चुक्तासमेत भइसकेको छ। कतिपय बैंकहरूले उनलाई पुरानै परियोजनामा थप ऋणसमेत दिएका छन्। प्रसाईंले पुरानो परियोजनामा धितो मूल्यांकन गराउँदै सामान थप्ने कारण देखाउँदै थप कर्जाको उपयोगबारे समेत सिआईबीले अनुसन्धान गर्ने छ। उनले २०७९ चैतदेखि लिएको कर्जाको साँवा ब्याज नियमित भुक्तानी गरेका छैनन्।
नेपाल राष्ट्र बैंकका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेण्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आईएमईबाट १ अर्ब रुपैयाँ गरी कुल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् । यी सबै बैंक तथा वित्त कम्पनीबाट लिएको ऋणको साँवा–ब्याज चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रसाईंले बैंकलाई करिब साढे ६ अर्ब रुपैयाँ भुक्तानी गर्न हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।