April 18th, 2025

स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंकको जिम्मा दिने काम नहोस् : वर्षमान पुन

बैंकिङ खबर/ नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले गभर्नर नियुक्तिमा स्वार्थसमूह हावी भएको बताएका छन्। पार्टीसम्बद्ध रोल्पा काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार चन्द्रागिरिमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताएका हुन्।

यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो।

उनले गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप समेत लगाए। ‘नियामकीय भूमिकामा रहनुपर्ने राष्ट्र बैंकको गभर्नरजस्तो पदमा नियुक्तिका लागि अर्बौंको आर्थिक डिल भएको समाचार सार्वजनिक सञ्चारमाध्यमहरुमा आइरहेका छन्’, पुनले भने, ‘हामी सरकारलाई चेतावनीका साथ भन्न चाहन्छौं स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंक जिम्मा लगाउने काम नहोस्।’

पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैँ पदमा रहिरहने नसोच्न चेतावनी दिए। ‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरुले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ । हामीले पनि हेरेका छौँ’, उनले भने।

पुनले राज्यका निकायहरुमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान कांग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए।

उनले कांग्रेस–एमाले सरकार पूर्ण रुपमा असफल भएको पनि टिप्पणी गरे। दुई तिहाइको सरकार विकास निर्माण, सुशासन र जनअपेक्षामा पूर्णतः चुकेको भन्दै पुनले सोही कारण जनतामा चरम निराशा र आक्रोश बढेको उल्लेख गरे।