बैंकिङ खबर/नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो।
त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,१७,०६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,१७,४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,८५,३५२ र १,८२,७८३ रहेको थियो।