April 8th, 2025

विद्युतीय गाडीमा मापदण्ड नहुँदा बैंकिङ चुनौती बढ्न सक्छः अध्यक्ष कोइराला

बैंकिङ खबर/ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले विद्युतीय गाडीमा लगानी गरिरहँदा भविष्यको चुनौतीको बढ्दै गएको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा बोल्दै उनले ग्रिन फाइनान्सिङमा सहयोग पुगे पनि विद्युतीय गाडी प्रविधिको विषयमा स्पष्टता आवश्यक रहेको बताए ।

बजारमा गएका ईभीको रि–पेमेन्टको समय आउनलागेको भन्दै उनले ५-६ वर्षमा ब्याट्री रिप्लेस गर्दा गाडी नै बुझाएर हिँड्ने हुन् कि भन्ने चिन्ता रहेको बताए । ‘नेपालमा सवारीसाधनको आयातमा अनुभव नै नभएका जोसुकै प्रवेश गर्दा चुनौती बढेको छ’, अध्यक्ष कोइरालाले भने, ‘सरकारले विद्युतीय गाडीमा कुनै मापदण्ड नबनाउँदा बैंकिङ चुनौती बढ्न सक्छ
।’

उनका अनुसार चालू आर्थिक वर्ष मात्रै सवारीसाधनमा १ खर्ब २९ अर्ब ऋण प्रवाह भएको छ। ‘बैंकले ७-८ वर्ष सम्मको ऋण दिएका छन्’, कोइरालाले थपे, ‘लामो दूरीमा चल्ने विद्युतीय २-३ वर्षमै ब्याट्री रिप्लेस गर्नुपर्दा ऋण तिर्न सकेनन् भने अप्ठ्यारो पर्छ।’ हालसम्म निजी गाडी वा सार्वजनिक यातायातको लागि प्रयोग भएका गाडी डिफल्ट हुने अवस्था आइसकेको छैन।