April 8th, 2025

भागबण्डा नमिलेर गभर्नर नियुक्ति ढिलो भएको भन्ने कुरा सत्य होइन्ः प्रवक्ता गुरूङ

बैंकिङ खबर/ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने बताएका छन् । मन्त्रीपरिषद्का बैठक सार्वजनिक गर्ने क्रममा गुरुङले छिटो भन्दा छिटो राष्ट्र बैंकले गभर्नर पाउने बताएका हुन् ।

उनले गभर्नर नियुक्तिका लागि समयमै हामीले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको र कमिटीले काम पनि गरिरहेको बताए । उनले गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्ने कुरा सत्य नभएको बताए ।

उनले डेपुटी गभर्नर निलम ढुंगानालाई सरकारले कार्यवाहक गभर्नर तोकिसकेकाले काम नरोकिने जिकिर गरे । उनले नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको हातमा मात्रै नरहेको र सरकारले ग्रे लिस्टबाट माथि उठ्नका लागि काम गरिरहेको बताए ।

उनले भने, ‘गभर्नर नियुक्तिका लागि समयमै हामीले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी अर्थमन्त्रीजीको संयोजकत्वमा गठन गरेको हो । डा. विजय भट्टराई र डा. विश्व पौडेल हुनुहुन्छ । उहाँहरुले काम पनि गर्दै हुनुहुन्छ । गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्ने कुरा सत्य होइन । डेपुटी गभर्नर निलम ढुंगानाजीलाई कार्यवाहक तोकिदिएका छौँ । त्यसले काम त गरिहाल्छ । चाँडै भन्दा चाँडै पक्का गभर्नर पाउँछौँ ।’

गुरूङले नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको मात्रै हातमा नरहेको भन्दै सरकारको सुशासनको कुरा पनि त्यत्तिकै महत्व रहेको बताए । ‘राष्ट्र बैंकको मनिटरी, फाइनान्सियल पोलिसीको पनि महत्वपूर्ण भुमिका हुन्छ,’ उनले भने, ‘अहिले बेथिति देखिएको छ । त्यसको अन्त्य त हामी गर्छौं । गभर्नरले मात्रै हुने भन्ने त होइन, तर गभर्नरको भुमिका महत्वपूर्ण हुन्छ ।’