April 6th, 2025

गभर्नर नियुक्तिमा सरकार बिचौलिया खुसी पार्नतिर लागे असन्तुष्टि झन् बढ्छ: गगन थापा


बैंकिङ खबर/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्र बैंकको गभर्नर नियुक्ति कत्तिको स्वतन्त्र रूपमा हुन्छ भन्ने कुरा चासोको विषय भएको बताएका छन्। आइतबार दाङको तुलसीपुरमा नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गभर्नर नियुक्तिको विषयमा बिचौलिया हाबी भएमा वा सरकार बिचौलियालाई खुसी पार्ने निर्णयमा पुगेमा सरकारप्रति असन्तुष्टि थप बढेर जाने चिन्ता जाहेर गरे।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको काम चित्त बुझ्दो नहुँदा खासगरी तन्नेरीहरू बढी रिसाएको पनि उनले बताएका छन्। ‘सत्यबाट भागेर हुँदैन। राज्यले सामना गर्नुपर्छ। यसका लागि व्यवस्था होइन, अवस्था बदल्न जरुरी छ, ‘उनले भने, ‘अब आचरण बदल्न जरुरी छ। शासन गर्ने मानिसमा आँट चाहिएको छ। जिम्मा लिएको मानिसले ढंगका साथ ढुक्क बनाउनुपर्ने समय आएको छ।’