April 6th, 2025

‘गभर्नर नियुक्तिमा ‘ब्रिफकेश’को चलखेल सुरु भइरहेको आशंका छ’

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अब आउने गभर्नरले निकै संयमताका साथ अर्थतन्त्रको यथार्थ बुझेर पाइला चाल्नुपर्ने अवस्था रहेको बताएका छन् । पूर्वगभर्नर क्षेत्रीले सरकारले जे भन्यो त्यही मान्ने मान्छे नभएर अबको गभर्नर मुलुकको अर्थतन्त्र जोगाएर लानसक्ने चाहिने बताए । उनले मौद्रिक नीतिलाई केन्द्रीय बैंकको स्वेत्तताको आधारमा अडान लिनसक्ने व्यक्ति अबको गभर्नर हुनुपर्ने उनले बताए ।

साथै, अहिले गभर्नर नियुक्तिमा पार्टीका मान्छे भन्दा पनि ब्रिफकेशको चलखेल सुरु भइरहेको उनले आशंका व्यक्त गरे । ब्रिफकेश बुझाएको कोही मानिस गभर्नर नियुक्त भएको खण्डमा मालिकको आदेश मान्नु पर्ने र त्यसले देशको अर्थतन्त्रको हितमा काम गर्न नसक्ने उनको भनाइ छ । पूर्व गभर्नर क्षेत्रीले कोही पनि गोठालो अबको गभर्नर हुन नहुने टिप्पणी गरे ।

‘पार्टीका मान्छेहरु भन्दा पनि अब त यहाँ ब्रिफकेश गरूङ्गो आउँछ कि भन्ने चाहीँ डर भयो । त्यस्तो चाहीँ हुन हुँदैन । त्यस्तो भयो भने गोठालो हुन्छ । आफ्नो मालिकले जे काम लगायो त्यही गर्नुपर्ने हुन्छ । आफ्नो विवेक प्रयोग गरेर काम गर्ने आँट, जाँगर र साहस भएको हुनुपर्छ,’– उनले भने ।