२०८१ चैत्र २४ गते

गभर्नर बनाउन बिचौलिया चलखेल गर्दैछन्, सरकारलाई वार्न गर्छु– दुर्भाग्य हुन्छ: शेखर कोइराला

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले अहिले राष्ट्र बैंकको गभर्नर बनाउन बिचौलियाहरू सक्रिय भएको सुनिरहेको बताए।

‘अहिले हामी सबैले सुन्दैछौँ एउटा कुरा- हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि बिचौलियाहरू चलखेल गर्दैछन्। त्यो हो भने म त वार्न गर्दछु सरकारलाई,’ उनले भने, ‘यस्तो भए सरकारको लागि त दुर्भाग्य हुन्छ नै। नेपालको लागि नै दुर्भाग्य हुन्छ। यो अत्यन्त गम्भीर विषय हो। देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरू कसैलाई पनि छैन। त्यसपछि उहाँहरूले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौं भन्नुभयो। सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन। औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ। उपायहरू छ त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरूमा, नेतृत्वमा हुनुपर्छ। राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ। के नेपाललाई बनाउन सकिँदैन? नेपाललाई बनाउन सकिन्छ। अहिले युवाहरू पलायन भइरहेका छन्।’