April 6th, 2025

तोकिएन कार्यवाहक गभर्नर, ऐन मिच्दै राजनीतिक दल


बैंकिङ खबर/ देशकै केन्द्रीय बैंक आजदेखि नेतृत्व विहीन भएको छ । सरकारले अहिलेसम्म न नयाँ गभर्नर नियुक्त गर्न सकेको छ न कसैलाई कार्यवाहकको जिम्मेवारी नै दिएको छ।

गभर्नर पदबाट महाप्रसाद अधिकारीले शनिबारदेखि अवकाश पाइसकेका छन्। दुई दिन बिदा परेकाले शुक्रबार नै गभर्नरको बिदाइ गरिसकिएको छ। नेपाल राष्ट्र बैंक ऐनको बुँदा नम्बर २५ अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्ति गरि सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गरिसक्नु पर्छ ।

सरकारले ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । सत्तारुढ कांग्रेस र एमालेमध्ये गभर्नर कसले राख्ने टुंगो नहुँदा नियुक्त ढिलाइ भएको हो।

गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने ऐनको २७ नम्बर बुँदामा उल्लेख छ। आज आइतबार रामनवमीको दिन सार्वजनिक बिदा छ।

सोमबार कार्यालय खुलेपछि कार्यवाहक तोक्ने स्रोतले जनाएको छ । यद्यपि, कार्यवाहक अर्थ मन्त्रालयले तोक्ने वा मन्त्रिपरिषद्ले नै तोक्ने भन्ने ऐनमा प्रष्ट प्रावधान भने छैन।