बैंकिङ खबर/ आम्दानी वा कुनै प्रतिफल प्राप्त गर्ने उद्देश्यले वित्तीय स्रोत खर्च गरी कुनै पनि किसिमको सम्पत्ति किनिन्छ भने त्यसलाई लगानी भनिन्छ। उदाहरणका लागि, कृषकले खेतबारीमा प्रयोग गर्ने उद्देश्यले ट्रयाक्टर खरिद गर्दछ भने त्यो उसले गरेको लगानी हो। ट्रयाक्टरको प्रयोगबाट उसले छोटो समयमा आफैं खेत जोत्न सक्ने भयो । यसबाट उसको लागत कम हुन्छ र आम्दानी वृद्धि हुन्छ।
वैदेशिक रोजगारीमा रहेका कामदारले बचतपत्र खरिद गर्याे भने त्यो बचतपत्र उसका लागि लगानी भयो। निश्चित समयमा प्राप्त हुने ब्याज नै उसका लागि प्रतिफल भयो।
त्यस्तै, कसैले कुनै कम्पनीको सेयर किन्छ भने त्यो सेयर स्वामित्व नै उसको लगानी भयो। यसबाट उसले प्रतिफलको रुपमा कम्पनीको नाफाको आधारमा लाभांश प्राप्त गर्न सक्दछ । यसरी आम्दानी वा प्रतिफलका लागि सम्पत्ति सृजना गर्न गरिने खर्च नै लगानी हो।
लगानी र प्रतिफलको विषयमा कुरा गर्दा जोखिमको अवधारणा बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। जोखिम शब्दले अपेक्षित परिणामबाट हुन सक्ने विचलन वा अनिश्चिततालाई बुझाउँछ। कुनै पनि लगानी गर्दा प्रतिफल वा त्यसबाट हुने आम्दानीको अपेक्षा वा आँकलन मात्र गर्न सकिन्छ, निश्चित रुपमा यति नै हुन्छ भनेर यकिनका साथ भन्न सकिँदैन।
यसरी अपेक्षित परिणाम प्राप्त नहुने सम्भावना नै जोखिम हो । जुनसुकै लगानीमा कुनै न कुनै जोखिम हुन्छ। लगानीले वित्तीय स्रातको परिचालन गर्दछ। निष्कृय रुपमा रहेको रकमबाट कुनै प्रतिफल प्राप्त हुँदैन। पैसा आफैं बढ्दैन। यसको मूल्य समयको अन्तरालसँगै मुद्रास्फीति वा मूल्यवृद्धिका कारण घटिरहेको हुन्छ।
उदाहरणका लागि, २० वर्ष पहिले सय रुपैयाँले खरिद गर्न सकिने सामान अहिले सो मूल्यमा पक्कै आउँदैन। लगानी प्रतिफलले पैसाको घट्दो मूल्यबाट हुने घाटा पूर्ति गर्ने मात्र नभई थप आयआर्जन गर्न सघाउ पुग्छ।
तर, पूर्ण जानकारी हासिल नगरी, भविष्यको आम्दानी वा घाटाका सम्भावनाबारे नबुझी लहैलहैमा लागेर गरिएका लगानीले प्रतिफल नदिने मात्र होइन, लगानी गरेको मूल धन नै डुब्न सक्छ। बजारमा धेरै किसिमका लगानीका विकल्प उपलब्ध हुन्छन्।
तीमध्ये आफ्नो वित्तीय लक्ष्य, खर्चका प्राथमिकता, लगानीका विभिन्न विकल्प सम्बन्धित ज्ञान, जोखिम बहन गर्न सक्ने क्षमता, अपेक्षित प्रतिफल आदिका आधारमा उपयुक्त विकल्प छनोट गर्नुपर्दछ। बैंक वित्तीय संस्थाको मुद्दती निक्षेप, ऋणपत्र, बचतपत्र, सेयर, म्युचुअल फन्ड, रियलस्टेट (घरजग्गा), व्यापार व्यवसाय, स्वराजगारसम्बन्धी उद्यम आदि सबै लगानी विकल्प हैन।
लगानी निर्णय गर्दा निम्न विषयमा प्रष्ट हुनुपर्छः
१. लगानीको उद्देश्य र वित्तीय लक्ष्यको तादात्म्य।
२. लगानी गर्न आवश्यक रकम र आफ्नो बचत तथा भावी वित्तीय दायित्व वा खर्चको सन्तुलन।
३. लगानीमा हुने जोखिम र आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता (लगानीबाट कुनै प्रतिफल प्राप्त नभए वा लगानी डुबे आफ्नो आर्थिक अवस्था के हुन्छ)।
४. लगानीबाट अपेक्षित प्रतिफल र सो प्राप्त हुन लाग्ने समय।
५. लगानी गरेको सम्पूर्ण रकम फिर्ता हुन लाग्ने अवधि।
६. विद्यमान नियम, कानुन र करसम्बन्धी प्रचलित व्यवस्था।
७. लगानी विविधीकरणका उपाय (आफूसँग भएको सबै बचत वा सबै वित्तीय स्रोत एकै उपकरण वा विकल्पमा लगानी गर्नुहुँदैन, विविधीकरण गर्नुपर्दछ। यसले जोखिम न्यूनीकरण गर्न मद्दत पुग्दछ।)
८. जुन क्षेत्रमा लगानी गर्न लागिएको हो त्यस क्षेत्रसम्बन्धी विस्तृत ज्ञान हुनुपर्छ।




