
बैंकिङ खबर / आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त हुनुभएको छ । आइएमई लिमिटेडले आज एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो ।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ । आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय हुनुहुन्छ । गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उहाँका गीतहरू उत्तिकै रुचाइएका छन् ।
रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको भावनालाई प्रकाश सपुतले आफ्ना गीत संगीत मार्फत बोल्दै आउनुभएको छ । देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने आइएमईको विश्वास छ ।
सम्झौता कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले भन्नुभयो उहाँका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ। साथै, उहाँले स्वदेश र विदेशको दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको काम गर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै, गायक प्रकाश सपुतले आइएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताउनुभयो। उहाँले विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोडीराख्ने प्रतिबद्धता जनाउनुभयो ।




