March 12th, 2025

बढ्दो कर्जा सुरक्षण


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुको कर्जा सुरक्षण बढेको पाइएको छ । पाँच वर्षको तथ्यांकलाई हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा सुरक्षण २४८.५० प्रतिशतले बढेको हो । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप सुरक्षण भने १२० प्रतिशतले बढेको देखिन्छ ।

कर्जा सुरक्षण आर्थिक वर्ष २०७६/७७ मा ६५ अर्ब ६८ करोड रुपैयाँ रहेकामा २०८१/८२ को पुस मसान्तसम्म आइपुग्दा त्यस्तो रकम ३ खर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, निक्षेप सुरक्षण आर्थिक वर्ष २०७६/७७ मा ६ खर्ब ८९ अर्ब ४८ करोड रुपैयाँ रहेकामा अहिले १५ खर्ब १३ अर्ब ९४ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले लघु तथा विपन्न वर्ग कर्जा सबैभन्दा धेरै सुरक्षण गरेका छन्। चालु आर्थिक वर्ष पुस मसान्तसम्म १४ लाख ३८ हजार ७१५ वटा लघु तथा विपन्न वर्ग कर्जा सुरक्षण भएको छ। कुल २ खर्ब ४१ अर्ब ८८ करोड रुपैयाँ बराबरको लघु तथा विपन्न वर्ग कर्जा सुरक्षण गरिएको हो।

त्यसैगरी, ६८ हजार १९१ ऋणीको ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा सुरक्षण गरिएको छ। कर्जा सुरक्षणमा ९८ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता छ। निक्षेप सुरक्षणमा भने ५५ वटा संस्थाहरु सहभागी छन्।

अब मौद्रिक क्षति पनि सुरक्षण

बैंक तथा वित्तीय संस्थामा राखिएको निक्षेप झन् सुरक्षित हुने भएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले काउन्टरबाट नगद अपचलन (चोरी) गर्नेजस्ता अपराधबाट हुने नोक्सानीलाई पनि बीमाले रक्षावरण गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘मौद्रिक क्षति बीमासम्बन्धी निर्देशन, २०८१’ मा त्यस्ता अपराध गर्ने व्यक्ति तथा समूहलाई कानुनी कारबाही त प्रचलित कानुनअनुसार हुनेछ । तर, त्यस्ता घटनाबाट बैंकलाई हुने क्षतिको भने बीमा गर्न मिल्ने सुविधा प्राधिकरणले ल्याएको हो ।

बैंकहरूले नगद, नगदजन्य उपकरण र सुरक्षण (सुनलगायत)मा हुने जोखिमको बीमा गर्छन्, जसलाई ‘मौद्रिक क्षति बीमा’ भनिन्छ । पहिला यस्तो बीमाले बाह्य पक्षबाट हुने जोखिमको मात्रै रक्षावरण गथ्र्याे । अब नयाँ निर्देशनमार्फत बैंकहरूमा भएका नगद, नगदजन्य उपकरण र सुरक्षणमा बैंककै कर्मचारीबाट हुने सम्भावित जोखिमलाई पनि बीमाले रक्षावरण गर्ने व्यवस्था गरिएको हो । अर्थात्, कर्मचारीको बेइमान तथा अपराधाका कारण बैंकहरूमा भएको नगद, नगदजन्य उपकरण र सुरक्षणमा कुनै नोक्सानी भएमा बीमा कम्पनीले आर्थिक रूपमा क्षतिपूर्ति (दाबी भुक्तानी) दिनेछन् ।

‘बिमित (बैंक)का कर्मचारीले एक्लै वा अन्य व्यक्तिसँगको मिलेमतोमा गरेको बेइमानी वा आपराधिक कार्यबाट बिमित (बैंकको) नगद, नगदजन्य उपकरण, सुरक्षण तथा धितोका लागि राखिएका सुरक्षणहरूमा हानि–नोक्सानी पुग्न गएको अवस्थामा यस बीमालेखअन्तर्गत रक्षावरण हुनेछ,’ निर्देशनमा भनिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार बैंकमा हुने नगद, नगदजन्य उकरण र सुरक्षणमा हुने सबै खाले जोखिमलाई बिमाले रक्षावरण गर्ने गरी निर्देशन ल्याइएको हो । बैंकको घुम्ती कार्यालय, शाखारहित कार्यालय र एटिएममा भएको नगद, नगदजन्य उपकरण र धितोमा राखिएको सुरक्षण जुनसुकै व्यक्तिले चोरी–डकैती गरेमा पनि बिमाले रक्षावरण गर्ने प्रस्ताव गरिएको छ ।

यसैगरी, आगलागी वा प्रतिरोध–बलजफ्तीका कारण नोक्सानी भएमा पनि बीमाले रक्षावरण गर्ने निर्देशनमा उल्लेख छ । नगद, नगदजन्य उपकरण र सुरक्षणको ढुवानीका क्रममा कर्मचारीको हेलचेक्र्याइँ वा धोकाापूर्ण कार्यबाट हुने नोक्सानीलाई पनि बिमाले रक्षावरण गर्ने व्यवस्था गरिएको छ ।

‘बिमित (बैंक)का कर्मचारीको हेलचेक्र्याइँ वा धोकाापूर्ण कार्य वा अन्य कुनै कारणबाट त्यस्तो कर्मचारीको साथ लगाएर पारवहन (ढुवान) भइरहेको अवस्थामा कुनै नगद तथा नगदजन्य उपकरण वा धितोस्वरूप लिइएको सुरक्षण नष्ट भए, हराए, गलत स्थानमा राखिए वा हिनामिना भएको अवस्थामा रक्षावरण हुनेछ,’ निर्देशनमा भनिएको छ ।

जालसाजी, किर्ते वा हेरफेर गरिएको चेकलगायतका आधारमा भुक्तानी दिएर भएको नोक्सानीलाई पनि बिमाले रक्षावरण गर्ने व्यवस्था गरिएको छ । ‘काउन्टरमा बुझेको वा क्लियरिङ वा हुलाक–कुरियरबाट प्राप्त भएको नक्कली, काल्पनिक, जाली वा किर्ते गरी बनाएको चेक वा ड्राफ्ट, बिमितले जारी गरेको वास्तविक चेक वा यात्रु चेक वा दान–उपहारमा दिएको चेक, मुद्दती निक्षेपको पुर्जामा जालसाजीका रूपमा दरपिठ भएको वा त्यस्ता लिखत निस्साहरू सक्कली मानी भुक्तानी गरिएको अवस्थामा यस बीमालेखअन्तर्गत रक्षावरण हुनेछ,’ निर्देशनमा भनिएको छ ।

जोेखिम बहन गर्न बैंकले एकमुष्ठ २.७५ प्रतिशत बिमाशुल्क तिर्नुपर्नेछ । भूकम्प, बाढीपहिरोलगायतका माध्यमबाट हुने जोखिम रक्षावरण गर्न अतिरिक्त १ प्रतिशत (प्रतिरक्षावरण)को दरमा बिमाशुल्क लाग्नेछ । निष्ठा जमानीबापत भने प्रतिकर्मचारी १० रुपैयाँ बिमाशुल्क लाग्नेछ । यस्तै, हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकवादसम्बन्धी क्रियाकलापबाट हुने जोखिमका लागि भने थप ०.६५ प्रतिशतका दरमा बिमाशुल्क लाग्ने निर्देशनमा उल्लेख छ ।