Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

धितोपत्र बोर्डले पायो पुँजी बजारका पीएचडी होल्डर विज्ञ अध्यक्ष डा. भट्ट

२०८३ असार ५ गते

बैंकिङ खबर / नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाएको छ। सरकारले डा. गोपाल भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बोर्ड अध्यक्ष रहेका सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि केही समयदेखि नेतृत्वविहीन रहेको बोर्डमा नयाँ अध्यक्ष नियुक्त गरिएको हो।

डा. भट्टले पूर्वअध्यक्ष श्रेष्ठको बाँकी कार्यकाल पूरा गर्नेछन् । सोहीअनुसार भट्टले २०८५ मंसिर ९ गतेसम्म अर्थात् करिब साढे दुई वर्ष सेबोनको नेतृत्व सम्हाल्नेछन्। पुँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने, बजार नियमनलाई प्रभावकारी बनाउने तथा धितोपत्र क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने जिम्मेवारी अब नयाँ अध्यक्षको काँधमा आएको छ। उनको नियुक्तिसँगै लामो समयदेखि देखिएका नीतिगत र बजार सुधारका विषयले गति लिने अपेक्षा गरिएको छ।

वित्तीय क्षेत्रका अनुभवी विज्ञ

डा. गोपाल भट्ट नेपालको वित्तीय क्षेत्रका अनुभवी र अध्ययनशील व्यक्तित्वका रूपमा चिनिन्छन्। बैंकिङ, वित्तीय प्रणाली, नियमन र संस्थागत विकासका क्षेत्रमा उनको लामो अनुभव रहेको छ । उनले वित्तीय क्षेत्रको नीति, अनुसन्धान र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएका छन् । विशेषगरी वित्तीय प्रणालीको स्थायित्व, संस्थागत सुशासन र बजार विकासका विषयमा उनको गहिरो रुचि रहेको मानिन्छ।

नीति र अनुसन्धानमा दख्खल

डा. भट्टले अर्थतन्त्र, वित्तीय बजार र नियमनसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् । वित्तीय क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र प्रतिस्पर्धी बनाउनुपर्ने धारणा राख्ने विज्ञका रूपमा उनलाई लिइन्छ। उनको कार्यशैली अध्ययनमा आधारित, तथ्य र प्रणाली केन्द्रित रहेको सहकर्मीहरू बताउँछन् । वित्तीय क्षेत्रका चुनौतीलाई दीर्घकालीन दृष्टिकोणबाट समाधान गर्नुपर्ने उनको मान्यता रहँदै आएको छ।