March 9th, 2025

बीमा रकम हत्याउन आफ्नै पसलमा आगो लगाएपछि…

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ एक करोड रुपैयाँ बराबरको बीमा रकम हत्याउन आफ्नै पसलमा आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर घर भई पोखरा महानगरपालिका–२७ तालचोकमा बस्ने २८ वर्षीय रमेश शर्मा लोहार छन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । १६ फागुनमा साँझ ९ बजेतिर पोखरा महानगरपालिका–८ न्यूरोडमा लोहारले सञ्चालन गरेको शर्मा आईटी हबमा आगलागी भएको थियो ।

तत्कालै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पौन ८ बजे नै आगो नियन्त्रणमा लिएको थियो । तर घटनको अनुसन्धान गर्दा लोहारले बीमाको रकम हत्याउने उदेश्यले आफ्नै पसलमा आगो लगाएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

आगलागीबाट ९४ लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै उनले वडा प्रहरी कार्यालय बैदाममा १७ फागुनमा निवेदन दिएका थिए । उनले मोबाइल चार्जमा राखेर वास रुम गएको र केही पड्केको आवाज आएकाले हेर्दा खेरी आगलागी भएको दाबी गर्दै निवेदन दिएका थिए ।