बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयर नामसारी, खरिदबिक्रि, हक हस्तान्तरण तथा पुँजी वृद्धि सम्बन्धी नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
अनुमतिपत्रप्राप्त संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा अरु कसैको नाम वा माध्यमबाट एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी सेयर वा पुँजी लगानी गरेकोमा वा अन्य कुनै तरिकाले सोको वास्तविक धनीको रुपमा रहेको भएमा त्यस्तो वास्तविक धनीको अद्यावधिक व्यक्तिगत विवरण (नाम, थर, पति/पत्नी, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं., मोबाइल नं., इमेल ठेगाना) राख्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।
संस्थापक सेयरको खरिदबिक्री वा नामसारी गर्नु पूर्व राष्ट्र बैंकको बैंकको स्वीकृति लिनुपर्ने, स्वीकृतिको लागि सञ्चालक समितिको सिफारिस तथा अन्य सेयरधनीको लिखित सहमतिसहित निवेदन दिनुपर्ने, सामान्यतः अनुमतिपत्र प्राप्त भएको मितिले ५ वर्षसम्म संस्थापक सेयर खरिद बिक्री गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
तर, आधुनिक प्रविधि भित्र्याउन पुँजी थप गर्नुपर्ने अवस्था वा दुई वा दुईभन्दा बढी संस्था एक आपसमा गाभिई नयाँ लगानीकर्ता थप गर्दा वा अन्य कुनै मनासिव कारणले संस्थापक शेयर खरिदबिक्री गर्नुपर्ने औचित्य पुष्ट्याई हुने अवस्थामा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापक सेयर खरिद बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाको छ । यसरी सेयर खरिद बिक्री गर्दा सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गरी प्रति कित्ता सेयर मूल्य निर्धारण गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार संस्थापक सेयर लिएका व्यक्तिको मृत्यु भएमा वा प्रचलित कानुनबमोजिम पारिवारिक अंशबन्डा भएमा प्रचलित कानुनको रित पु¥याई निजको हकदार वा निजले इच्छाएको व्यक्तिको नाममा स्वीकृति लिई नामसारी गर्न सकिनेछ ।
संस्थापक सेयर खरिदकर्ता व्यक्ति भएमा सेयर खरिद गर्न प्रस्तावित व्यक्तिको तोकिएको ढाँचामा व्यक्तिगत विवरण, संस्थापक हुन अयोग्य नरहेको स्वःघोषणा, कालोसूचीमा नरहेको वा कालोसूचीमा परेको भए सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको प्रमाण, पछिल्लो आवको कर चुक्ता गरेको प्रमाण, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नभएको प्रमाण र लगानीको स्रोत खुलाई सोको प्रमाण राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । सेयर खरिद गर्न प्रस्तावित व्यक्ति हाल कायम संस्थापक सेयरधनी रहेको भए व्यक्तिको अद्यावधिक व्यक्तिगत विवरण, कालोसूचीमा नरहेको प्रमाण, पछिल्लो आवको कर चुक्ताको प्रमाण, लगानीको स्रोत खुल्ने प्रमाण पेश गर्नुपर्ने छ ।