March 5th, 2025

बैंकहरुमा पर्याप्त तरलता, बढ्दै कर्जा प्रवाह

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ६७ खर्ब रुपैयाँ नाघेको छ । फागुन १७ गतेसम्मको तथ्यांक अनुसार वित्तीय संस्थाहरूमा ६७ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको देखिन्छ ।

अहिले बैंकहरुसँग पर्याप्त तरलता छ । बैंकहरुमा भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ । जसमा निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्ब ९ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब तानिएको हो ।

यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत २ अर्ब ७० करोड तरलता प्रवाह हुँदा १४८ खर्ब ५८ अर्ब ८५ करोड (कारोबारमा आधारित) खुद तरलता प्रशोचन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधामार्फत तरलता प्रवाह र निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन हुँदा २७ अर्ब ९४ करोड खुद तरलता प्रशोचन भएको थियो ।

निजी क्षेत्र तर्फ कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट चालू आवको छ महिनामा निजी क्षेत्रतर्फ २ खर्ब ६५ अर्ब ५६ करोड थप कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड प्रवाह भएको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्र तर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा ९.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत रहेको थियो ।

तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर लगायत बैंक तथा वित्तीय संस्थाहरूको आधार दर तथा निक्षेप र कर्जाको ब्याजदरसमेत घटेको छ । सञ्चालन लक्ष्यको रूपमा रहेको बैंक तथा वित्तीय संस्थाहरूबिचको भारित औसत अन्तरबैंक दर २०८० माघमा ३.०४ प्रतिशत रहेकोमा २०८१ माघमा ३.०० प्रतिशत रहेको छ ।