Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तरलता के हो ? किन राष्ट्र बैंकले निरन्तर खिचिरहेको छ ?

२०८१ फाल्गुन २० गते

बैंकिङ खबर/ कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् ।

कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

किन राष्ट्र बैंकले निरन्तर खिचिरहेको छ ?

सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदी जस्ता बहुमूल्य धातुमा अत्यधिक तरलता गुण हुन्छ ।

पछिल्लो समयम बैंकिङ तरलता अधिक भए पनि त्यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । बैंकिङ प्रणालीमा बढी भएको तरलता केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा चाहिने तरलता पठाउने, अधिक भएको समयमा प्रशोचन गर्ने कार्य खुला बजार कारोबार हो । राष्ट्र बैंकले खुला बजार कारोबार मार्फत तरलता प्रवाह गर्ने रिपो र सोझै खरिद उपकरण प्रयोग गर्छ । तरलता प्रशोचनका लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन उपकरण र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्ने गर्छ ।

हाल बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि राष्ट्र बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । तरलता प्रशोचन गर्ने चार औजारमध्ये राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरिरहेको छ । बोलकबोल माध्यम र निक्षेप संकलन दरमा पनि राष्ट्र बैंकले तरलता प्रशोचन गर्छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये एक निक्षेप संकलन बोलकबोल उपकरण हो ।

यसअन्तर्गत बोलकबोल आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ, जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संलन गर्न सकिने व्यवस्था पनि छ । जसलाई स्थायी निक्षेप सुविधा भनिन्छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अपेक्षा गरेको अन्तरबैंक कारोबारमा प्रयोग हुने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदर करिडोरको तल्लो सीमालाई नै निक्षेप संकलन दर भनिन्छ । मौद्रिक नीति सञ्चालन लक्ष्य प्रभावकारी कार्यान्वयन गर्न खुला बजार कारोबार प्रणाली सञ्चालन हुन्छ । राष्ट्र बैंकले मौद्रिक नीति सञ्चालन र तरलता प्रभावकारी कार्यान्वय गर्न ब्याजदर करिडोर सञ्चालनमा ल्याएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारित औसत अन्तरबैंक दरलाई मौद्रिक नीति सञ्चालन लक्ष्यका रूपमा राखेको छ । स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालन मार्फत यसलाई नीतिगत दरकै हाराहारी कायम गर्ने लक्ष्य राखेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणा अनुसार नीतिगत दर हाराहारीमा भारित औसत अन्तरबैंक दर राख्न सफल नभएपछि निक्षेप संकलन दर हाराहारी राखेको छ । त्यसका लागि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ ।

राष्ट्र बैंक तरलता खिच्नुको कारण

राष्ट्र बैंकले तरलता खिच्नुको मुख्य कारण विभिन्न आर्थिक, वित्तीय र बजार स्थितिहरूसँग सम्बन्धित हुन सक्छ। यस्ता कदमहरू सामान्यतया मनी सप्लाईलाई नियन्त्रण गर्ने, मुद्रास्फीतिलाई नियन्त्रण गर्ने, र वित्तीय प्रणालीमा स्थिरता ल्याउने उद्देश्यले अपनाइन्छ। राष्ट्र बैंकले तरलता खिच्नुको केही प्रमुख कारणहरू निम्नलिखित छन्

१. मुद्रास्फीति नियन्त्रण

राष्ट्र बैंकले तरलता खिच्दा, यसको उद्देश्य मुद्रास्फीति नियन्त्रण गर्नु हो। जब बजारमा अधिक पैसा भएको छ भने, त्यहाँ अधिक खर्च र माग उत्पन्न हुन सक्छ, जसले गर्दा मूल्य वृद्धि (मुद्रास्फीति) को गति बढ्न सक्छ। तरलता खिचेर, बैंकले बजारमा पैसाको आपूर्ति घटाउँछ र यसरी मुद्रास्फीतिलाई नियन्त्रण गर्न सक्छ।

२. ब्याज दरमा नियन्त्रण

राष्ट्र बैंक ब्याज दर नियन्त्रण गर्नका लागि पनि तरलता खिच्ने कदम चाल्न सक्छ। यदि राष्ट्र बैंक बजारमा अधिक तरलता (पैसा) पुर्याउँछ भने, ब्याज दर घट्न सक्छ। तर, यदि तरलता खिचिन्छ भने, यसले ब्याज दर बढाउन मद्दत पुर्याउँछ। उच्च ब्याज दरले ऋणको माग घटाउन र बचतको प्रवृत्तिलाई प्रोत्साहन दिन्छ, जसले समग्र अर्थव्यवस्था मा स्थिरता ल्याउँछ।

३. वित्तीय प्रणालीको स्थिरता

राष्ट्र बैंकले बैंकहरूको बीचमा पर्याप्त तरलता सुनिश्चित गर्न पनि खिच्न सक्छ, ताकि बैंकहरूले एक अर्कासँग सुरक्षित रूपमा कारोबार गर्न सकून् र कुनै प्रकारको वित्तीय संकटबाट बच्न सकून्। यसले प्रणालीगत जोखिमलाई कम गर्छ।

४. विदेशी विनिमय दर नियन्त्रण

राष्ट्र बैंकले तरलता खिच्दा यसले राष्ट्रिय मुद्रा (जस्तै, नेपाली रुपैयाँ) को आपूर्ति घटाउन मद्दत पुर्याउँछ, जसले विदेशी विनिमय बजारमा मुद्रा अस्थिरतालाई कम गर्न सक्छ। यसका कारण मुद्रा स्फीति रोक्न वा विदेशी मुद्रा भण्डारलाई सुरक्षित गर्न मद्दत पुग्छ।

५. बैंकिङ क्षेत्रमा सुधार

यदि राष्ट्र बैंकले मन्दीको संकेत वा वित्तीय संकटको स्थिति देख्छ भने, यो बैंकहरूको कर्जा प्रवृत्तिमा सुधार ल्याउने उद्देश्यले तरलता खिच्न सक्छ। यसले अनावश्यक कर्जा वृद्धिलाई रोक्ने र बैंकोंको स्वस्थ व्यवस्थापनमा मद्दत पुर्याउँछ।

६. आर्थिक नीतिहरू

राष्ट्र बैंकको तरलता खिच्ने निर्णय सरकारले अपनाएका दीर्घकालीन आर्थिक नीतिहरूसँग मेल खाने हुन्छ। उदाहरणका लागि, सरकारको बजेट नीति, ऋण नीतिहरू र अर्थव्यवस्थामा पुनरुत्थानका उपायहरू समेटेर राष्ट्र बैंकले यो कदम उठाउन सक्छ। यसरी, राष्ट्र बैंकको तरलता खिच्ने निर्णय एक जटिल प्रक्रिया हो जुन विविध आर्थिक र वित्तीय अवस्थाहरूको आधारमा लिइन्छ।

सात महिनासम्ममा एक सय ४८ खर्ब बढी तरलता प्रशोचन

बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै निक्षेप र कर्जा दुवैको ब्याजदरमा निरन्तर कमी आएको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा अल्पकालीन ब्याजदरलगायत बैंक तथा वित्तीय संस्थाहरूको आधार दर तथा निक्षेप र कर्जाका ब्याजदर समेत घटेको हो ।

तरलता सहज भएसँगै सञ्चालन लक्ष्यको रूपमा रहेको बैंक तथा वित्तीय संस्थाहरूबिचको भारित औसत अन्तरबैंक दर २०८० माघमा ३ दशमलव ०.४ प्रतिशत रहेकोमा २०८१ माघमा तीन प्रतिशत कायम रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को सात महिनासम्ममा निक्षेप सङ्कलन बोलकबोलमार्फत १८ खर्ब नौ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत एक सय ३० खर्ब ५२ अर्ब गरी कुल एक सय ४८ खर्ब ६१ अर्ब ५५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन भएको छ ।

राष्ट्र बैंककको तथ्यांक अनुसार यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत दुई अर्ब ७० करोड तरलता प्रवाह हुँदा एक सय ४८ खर्ब ५८ अर्ब ८५ करोड (कारोबारमा आधारित) खुद तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधामार्फत तरलता प्रवाह र निक्षेप सङ्कलन बोलकबोलमार्फत तरलता प्रशोचन हुँदा २७ अर्ब ९४ करोड खुद तरलता प्रशोचन भएको थियो ।
चालू आर्थिक वर्ष २०८१÷८२ को सात महिनासम्ममा राष्ट्र बैंकबाट दुई अर्ब ८७ करोड अमेरिकी डलर खरिदमार्फत तीन खर्ब ८७ अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब १९ करोड अमेरिकी डलर खरिदमार्फत चार खर्ब २४ अर्ब खुद तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ दुई खर्ब ६५ अर्ब ५६ करोड थप कर्जा प्रवाह भएको छ ।

२०८० पुसमा नौ दशमलव ३५ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर २०८१ पुसमा छ दशमलव ६५ प्रतिशत कायम भएको छ । त्यसैगरी, २०८० पुसमा सात दशमलव ३२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर २०८१ पुसमा चार दशमलव ७५ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात २०८० पुसमा तीन दशमलव ७३ प्रतिशत रहेकोमा २०८१ पुसमा चार दशमलव ९२ प्रतिशत पुगेको छ । २०८१ पुसमा वाणिज्य बैंकको चार दशमलव ७३ प्रतिशत, विकास बैंकको पाँच दशमलव ११ प्रतिशत र फाइनान्स कम्पनीको १२ दशमलव ८५ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ ।