बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष मदन दहालले आफ्नो कार्यकालको पहिलो तीन महिनामा प्राधिकरणबाट भएका प्रमुख क्रियाकलापहरूको विवरण सार्वजनिक गरेका छन्।
२०८१ मंसिर २८ देखि २०८१ फागुन १२ सम्मको अवधिमा प्राधिकरणले विभिन्न नीतिगत, संस्थागत तथा प्राविधिक कार्यहरू सम्पन्न गरेको जानकारी उनले दिएका छन्।
अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहँदा सरकारबाट प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दहालले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्दै प्राधिकरणको सञ्चालन, नियमन र सुधार प्रक्रियाका विषयमा प्रष्ट पार्दै थप जिम्मेवारीबाट बिदाइ भएका हुन् ।
नेपाल बीमा प्राधिकरण बीमा ऐन, २०७९ बमोजिम सञ्चालनमा रहेको नियमनकारी निकाय हो। यस संस्थाले बीमा व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन तथा बीमितहरूको हकहित संरक्षण गर्न नीतिगत तथा प्राविधिक सुधार गर्दै आएको छ। दहालको नेतृत्वमा रहँदा प्राधिकरणले विभिन्न महत्त्वपूर्ण निर्णयहरू लिएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरेको बीमा नियमावली नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। बीमा सेवा विस्तारका लागि नयाँ योजनाहरू कार्यान्वयन गरिएको छ, जसमा बङ्गुर बीमालेख लागू गरिएको छ भने अलैँची, अदुवा र बेसार खेती बीमामा संशोधन गरिएको छ।
सम्पत्ति शुद्धीकरण तथा वित्तीय लगानी निवारण रणनीति कार्यान्वयनका लागि नियमन शाखा र सम्पत्ति शुद्धीकरण शाखा अलग–अलग गरिएका छन्। बीमकहरूको स्थिर सम्पत्ति खरिद तथा विक्री प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन २०८१ जारी गरिएको छ। बीमा ऐन, २०७९ बमोजिम संघीय सञ्चित कोषमा रकम दाखिला गर्ने कार्य अघि बढाइएको छ।
प्राधिकरणमा रिक्त विशिष्ट श्रेणी, कार्यकारी निर्देशक, निर्देशक तथा उपनिर्देशक पदहरू पदपूर्तिको प्रक्रिया पूरा गरिएको छ। सञ्चालक समितिमा पेस भएका ७१ उजुरीहरूमध्ये ३३ उजुरीमा फैसला, ३८ उजुरीमा आदेश जारी गरिएको र ४ उजुरी सहमति मध्यस्थताबाट टुङ्ग्याइएको छ।
एलआईसी नेपाल र नेको इन्स्योरेन्स लिमिटेडको जोखिममा आधारित सुपरीवेक्षण प्रक्रिया अगाडि बढाइएको छ। एकीकृत अफसाइड सुपरीवेक्षण प्रतिवेदन निर्माणको कार्य प्रारम्भ भई १२ वटा बीमकहरूको प्रतिवेदन तयार भइसकेको छ। ए२आई आई इन्नोभेसन ल्याबको अन्तरक्रियात्मक भ्वाइस प्रतिक्रिया (आईभीआर) प्रणाली कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।
मौद्रिक क्षति सम्बन्धी निर्देशन, २०८१ स्वीकृत भई लागू भएको छ। नेपालमा आएको बाढीका कारण स्थगित भएको एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स को सम्मेलन तथा सातौँ एसिया-प्यासिफिक उच्चस्तरीय बैठक जनवरी २०(२२, २०२५ मा सफलतापूर्वक सम्पन्न भएको छ।
बीमा ऐन, २०७९ अनुसार बीमित हित संरक्षण कोष, बीमा विकास कोष, अवकाश कोष, कर्मचारी कल्याण कोष, तथा कर्मचारी सापटी कोष सञ्चालन सम्बन्धी कार्यविधिहरूको मसौदा तयार पारिएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा लघु जीवन बीमा सम्बन्धी निर्देशनको अन्तिम चरणमा पुगेको छ। मानकीकृत उत्पाद (स्ट्यान्डरडाइज्ड प्रोडक्ट) र मोबाइल बीमा निर्देशिका (गाइडलाइन) को प्रारम्भिक मसौदा तयार पारिएको छ।
अध्यक्ष मदन दहालले प्राधिकरणमा आफ्नो कार्यकालमा विभिन्न सुधारात्मक कार्यहरू सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै सरकार, प्राधिकरणका कर्मचारी तथा बीमा क्षेत्रका सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले आगामी दिनमा बीमा क्षेत्रलाई अझ प्रभावकारी र जनमुखी बनाउन आवश्यक पहल गरिने विश्वास व्यक्त गरेका छन्। दहाल अहिले आन्तरिक राजश्व विभागको महानिर्देशको जिम्मेवारीमा छन् ।