
बैंकिङ खबर/ प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जमा ठूलो चलखेल भएको खुलासा गरेका छन् । प्रतिनिधि सभामा बोल्दै प्रचण्डले बिचौलियालाई पोस्न सरकारले कानुनले नै परिकल्पना नगरेको निर्देशिका बनाएको आरोप लगाएका हुन् ।
सत्तापक्षका सांसदहरुलाई दुःख नमान्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले भने‘तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ ।’
दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पिर्धाबाट, अझ रकम बढाबढबाट नयाँ लाइसेन्सको अनुमति दिनुपर्ने र त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्ने बताए ।


