Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याड बैंक स्थापनाको प्रक्रिया अघि बढ्योः ऐनको ड्राफ्ट बनाउन सुरु

२०८१ माघ २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी(ब्याड बैंक)स्थापना गर्न ऐन बनाउन सुरु गरेको छ । केन्द्रीय बैंकले ‘ब्याड बैंक’ भनेर चिनिने एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापनाका लागि एनेको मस्यौदा थालेको हो ।

बैंक वित्तीय संस्थामा रहेका जोखिमपूर्ण सम्पत्ति (स्ट्रेस्ड एसेट) व्यवस्थापन गर्ने बैंक (कम्पनी)लाई ब्याड बैंक भनिन्छ । बिग्रेका सम्पत्ति खरिद वा स्वामित्व ग्रहण गरी ती सम्पत्तिमा फसेको लगानी उठाउन ब्याड बैंक निकै प्रभावकारी मानिन्छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याड बैंक स्थापना गर्ने घोषणा गरेको थियो । हालै सरकारले पनि अध्यादेशमार्फत् कानुन संशोधन गर्दै ब्याड बैंकलाई सेवा उद्योगको रुपमा वर्गीकरण गरेको छ ।

ब्याड बैंक स्थापना गर्ने ऐन निर्माण गर्ने जिम्मा राष्ट्र बैंकले पाएको हो । ऐनको मस्यौदा तयार भएपछि अर्थ मन्त्रालयको स्वीकृति र कानुन मन्त्रालयको प्राविधिक अनुमोदनपछि मन्त्रिपरिषदबाट पारित हुनेछ । त्यसपछि संसद चलिरहेको स्थितिमा विधेयकको रुपमा संसदमा पेश हुनेछ र संसदबाट अनुमोदन भएपछि ऐन बनेर आउनेछ । यसैगरी संसद चालु अवस्थामा नरहेको स्थितिमा अध्यादेशमार्फत् ऐन लागु हुनेछ ।

अहिले राष्ट्र बैंकले तयार पारेको एउटा टास्कफोर्स (कार्यदल)ले द्रुत गतिमा ऐनको मस्यौदा बनाउन सुरु गरेको छ । गभर्नर महाप्रसाद अधिकारीका अनुसार कानुन बनाउने काम अर्थात् मस्यौदा निर्माणको काम राष्ट्र बैंकमार्फत् भइरहेको छ । खराब सम्पत्तिको पूर्णरुपमा रिस्ट्रक्चरिङ सजिलो नभएको उनको भनाइ छ ।