धादिङका हरिहर थापा अहिले ५६ वर्ष लागे । उनी अहिले धर्मपथस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत छन् । उमेरले ५५ काटेपनि अझै सुगठित देखिने उनी २० वर्ष इन्डीयन आर्मीका अनुभवि सीपाही पनि हुन् । एकताका गाउँतिर लाहूरे हुन चाहानेहरुको संख्या ठूलो थियो । टक्क काँधमा फित्तावाल रेडियो, आँखी भुई देखाउने साइजको कालो चश्मा र गर्हौँ झोला बोकेर गाउँ जाने लाहूरेलाई छोरी दिनेको पनि होडबाजी चल्थ्यो । त्यतिबेला हरिहर १८ वर्षका थिए । उनलाई पनि गाउँ घरमा ईन्डियन लाहुरे हुने होड चलेपछि भारततिर हानिने जोश चढ्यो । जोशसँगै परिवारको गर्जो टार्नुपर्ने अर्को जिम्मेवारी पनि थियो उनीसँग । त्यस्तै जोश र बाध्यताले धकेलेपछि उनी लाहुरे हुन भारततिर लागे र चाहाना अनुसार सफल पनि भए ।
त्यसपछि उनले पल्टनमा २० वर्ष समय विताए । वि.सं. ०५९ सालमा पल्टने जागिर छाडेर नेपाल फर्किएपछि उनी एक वर्ष घरमै बसे । पल्टनमा कठोर कसरत गर्ने बानी भएको उनको ज्यानले बसेर खान मानेन र उनी आफुलाई फिट हुने जागिर खोज्न थाले । अन्ततः उनी नेपाल बैंकमा गार्डको रुपमा जागिर खान छिरे । राम्रै अनुभव भएकाले उनले जागिर त पाए तर पल्टनमा जस्तो सेवा सुविधा भने पाएनन् । ‘काम २४ घण्टै जस्तो गर्नुपर्छ ।’ उनी भन्छन् ‘तर हामीलाई दिने सेवासुविधा भने काम अनुसारको छैन ।’
बैंक भनेको पैसाको कुञ्ज हो र त्यहाँ काम गर्ने मालामाल हुन्छन् भन्ने कुरा अरुबाट धेरै पटक सुनेका थापा त्यही कुञ्ज र ती मालामाल हुनेहरुलाई पुरै सुरक्षा गर्ने बैंकको गार्डलाई दिइने सेवा सुविधाप्रति सन्तुष्ट छैनन् । पल्टनमा उनले चित्तबुझ्दो स्यालरी बुझ्थे ।
थापा अहिले नेपाल बैंकमा प्रमुख सुरक्षकको जिम्मेवारीमा छन् । उनी सुरक्षक अधिकृतको रोहवरमा रहेर काम गर्ने गर्दछन् । उनको रोहवरमा काम गर्ने ५ जना छन् । उनले नेपाल बैंकमा लाईट चेक गर्ने, सीसी टिभि हेर्ने, बैंकमा सुरक्षा गर्ने देखि सबै काम गर्नुपर्दछ । ‘काम २४ घण्टै गर्नुपर्छ ।’ उनी भन्छन् । तर, आर्मीमा जस्तो सेवा सुविधा भने छैन, यहाँ खान र बस्न गरी जम्मा १९ हजार तलब छ ।’
मुलुकको विकासका लागि आम मानिसमा कुनै पनि कामको सम्मान गर्ने बानीको विकास हुनुपर्ने उनी बताउँछन् । ‘हामीकहाँ उद्यमशिलता बढाउन नसक्नुको प्रमुख कारण भनेकै देशमा सिर्जना भएको कामको मानिसले सम्मान नगर्नु हो ।’ उनले भने । ‘सुरक्षा गार्डलाई तल्लो स्तरको व्यवहार गरिन्छ । तर मलाई भने सुरक्षा गार्डको पद उच्च जस्तै लाग्छ । देशकै सानो देखि ठूलो सम्मका सम्पतिको सुरक्षा गार्डहरुले नै गर्ने गर्छन् । तर, नेपालमा सुरक्षा गार्ड भनेपछि नराम्रो नजरले हेर्ने गरिन्छ । अरुले हामीलाई हेर्ने नजर र व्यवहारले हामीलाई प्रताडीत गर्ने गरेको छ । हामीलाई मान्छे नै होइनौँजस्तै व्यवहार हुन्छ, जुन कुराले सार्है दुख लाग्छ ।’
थापा त प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै बाध्यतामा रहेका गार्डहरुको दुख पनि उस्तै छ । खासगरी बैंक तथा वित्तीय संस्थाको सुरक्षाको विषय निकै संवेदनशील मानिन्छ । सेवा र सुविधाबाट भन्दा पनि उनीहरु आफ्नो काम र स्तरको सम्मान नहुँदा बढी दुखि देखिन्छन् । २४ घण्टै काम गर्दा पनि ‘जाबो गार्ड नै त हो नि’ भन्ने बैंककै कर्मचारी तथा अन्य मानिसको व्यवहारले ज्यादै दुख लाग्ने उनीहरु बताउँछन् ।
प्रस्तुति : नारदमुनी सिग्देल