
बैंकिङ खबर/ विगत ८ वर्षदेखि अवैध घोषणा गरिएको क्रिप्टोकरेन्सीको व्यापार फेरि मौलाउन थालेको छ । बिटक्वाइनको कारोबारबाट सर्वसाधारण ठगिन थालेपछि नेपालमा प्रतिबन्ध लगाइएको भर्चुअल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सी फेरि मौलाउन थालेको हो । यसले राष्ट्र बैंकदेखि प्रहरीलाई समेत चिन्तित बनाएको छ ।
क्रिप्टो करेन्सी कारोबारमा संलग्न एक गिरोहलाई हालै प्रहरीले पक्राउ गरेको छ । नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरा रहेका छन्। कैलाली बर्दगोरिया गाउँपालिका–६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ गैरीगाउँ बस्ने डंगौरा गिरोहका ‘मास्टर एजेन्ट’ रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए। पक्राउ पर्ने अन्यमा कैलाली बर्दगोरिया गाउँपालिका–६ कै २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ छन्।
यसैगरी, दोलखा भीमेश्वर नगरपालिका–४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने १९ वर्षीय आश्विन चौलागाईं, रौतहट गौर नगरपालिका–९ घर भई काठमाडौं–३१ नयाँ बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, बिहार भारत साहेवगञ्ज घर भई काठमाडौं–२५ बस्ने २७ वर्षीय रोशन कुमार र भारत बिहार पूर्वी चम्पास बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन्। यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको बोगटीले बताए।
यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको बोगटी बताउँछन्। पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरिरहेको दुई थान कम्प्युटर, १३ थान मोबाइल प्रहरीले बरामद गरेको छ। यस्तै, नगद पाँच लाख पचास हजार र विभिन्न व्यक्तिको नाममा जारी भएको बैंकको चेक १९ थान बरामद भएको छ। ‘उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको छ,’ बोगटीले भने।
विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो। प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्याउँथ्यो। यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो।
यसैबीच अभौतिक मुद्रा (बिटक्वाइन) कारोबार गरेको आरोपमा प्रहरी तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको जयपुरका ३० वर्षीय विजेन्द्र कुमार सैनी, सोही राजस्थानका २२ वर्षीय मोनु सैनी र सोही ठाउँका ३५ वर्षीय नन्दलाल सैनी छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको टोलीले पक्राउ गरेको हो ।
स्वीप अपरेशनमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–१ शिवपुरस्थित होटल हाइवेमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । ९ माघदेखि उक्त होटलमा बस्दै आएका उनीहरुले बिट क्वाइनको कारोबार गरेको पाइएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले जानकारी दिए । उनीहरूबाट २४ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २६२ को अभौतिक मुद्राको प्रयोग गर्न नुहने कसुरमा अनुसन्धान सुरु गरिएको छ । उनीहरूविरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।
‘क्रिप्टोकरेन्सी’
‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो । यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र एकाधिकारको नियन्त्रणमा पनि छैन । रुपैयाँ, डलर, युरो वा अन्य मुद्राजस्तै यो कुनै पनि राज्य, देश, संस्था वा सरकारद्वारा सञ्चालित हुँदैन । यो एक डिजिटल मुद्रा हो जसका लागि क्रिप्टोग्राफीको प्रयोग गरिन्छ । सामान्यतया, सामान किन्न वा सेवाका लागि यसको प्रयोग गर्न सकिन्छ । क्रिप्टोकरेन्सीको नाफा उच्च छ, अनलाइन किनबेचले गर्दा लेनदेन गर्न पनि सजिलो छ । क्रिप्टोकरेन्सीको कुनै नियामक निकाय छैन, त्यसैले नोसेट परिवर्तन वा मुद्रा अवमूल्यनजस्ता सर्तले यसलाई असर गर्दैन ।
क्रिप्टोकरेन्सीका प्रकार
क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा बढी कीर्तिमान राखेर बजार तताउने बिटक्वाइन लोकप्रिय छ । बिटक्वइनबाहेक विश्वमा सयौँ अन्य क्रिप्टोकरेन्सी छन् । रेड क्वइन, सिया क्वइन, सिस क्वइन, भ्वाइस क्वइन, इथिरियम, रिपल, लिटक्वइन र मोनेरो यसका उदाहरण हुन् ।
के हो बिटक्वइन ?
बिटक्वइन एक क्रिप्टोकरेन्सी हो, जसमा अन्य भर्चुअल मुद्रामा जस्तै गुण छन् । यो एक भर्चुअल करेन्सी हो जो आफ्नै हातले छुन सकिँदैन । यसको लेनदेन अनलाइन माध्यमबाट एक वालेटबाट अर्को वालेटमा मात्र हुन्छ । यसलाई अन्य करेन्सीमा बदल्न पनि सकिन्छ । बिटक्वाइन २००९ मा चलनचल्तीमा आएको थियो । यसको आविष्कार जापानका सातोसी नाकामोतोले गरेको मानिन्छ, यद्यपि उनको नाम र पहिचान काल्पनिक रहेको बताइन्छ ।
यसको अस्तित्व भर्चुअल दुनियाँ अर्थात् इन्टरनेटमा मात्र रहन्छ । तर, जसरी भौतिक मुद्राले सामान किन्न सकिन्छ, त्यसरी नै यो मुद्राले पनि सामान खरिद–बिक्री गर्न सकिन्छ । यसको लेनदेन ‘पियर टु पियर’ नेटवर्कमा आधारित छ । यसको अर्थ यो एक अकाउन्टबाट अर्को अकाउन्टमा सर्भरविनै पुग्छ । यसका लागि केवल इन्टरनेट कनेक्सनको आवश्यकता पर्दछ । यसको मूल्य विश्वभर एक समान हुन्छ । उदाहरणका लागि विश्वभर एक बिटक्वाइनको मूल्य कुनै दिन १९ हजार ८ सय ६० डलरबराबर थियो ।
बिटक्वाइनको सबैभन्दा सानो करेन्सी सातोसी हो । १० करोड सातोसीको एक बिटक्वाइन हुन्छ । कुनै पनि करेन्सी, सामान वा सेवाबापत बिटक्वाइन खरिद गर्न सकिन्छ । यसमा कुनै देश, बैंक वा अथोरिटीको कन्ट्रोल हुँदैन ।
यसमा पैसा लगानी गर्नु जोखिमपूर्ण हुन्छ । कैयौँपटक यसको मूल्य केही घण्टामै ४० देखि ५० प्रतिशतसम्म झरेको छ । क्रिप्टोकरेन्सीको ज्यादातर प्रयोग गैरकानुनी काममा भइरहेको छ ।
कसरी सुरु भयो बिटक्वइन ?
सन् २००९ तिर सातोसी नाकामोतोले यो सफ्टवेर लन्च गरेको बताइन्छ । यसलाई सुरुमा अनलाइन गेम खेल्न प्रयोग गरिन्थ्यो । केही समयपछि यसको प्रयोग अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरूले गर्न थाले ।
उनीहरूले विस्तारै कागजी नोटको साटो यस्तो मुद्रा प्रयोग गर्न थाले र बिटक्वाइन सञ्चित गर्न थाले । त्यसपछि बजारमा यसको माग बढ्दै गयो र यसले विश्वव्यापी रूपमा मुद्राको रूप लियो । विश्वभरका अरू धेरै क्रिप्टोकरेन्सीमध्ये हाल सबैभन्दा प्रचलित बिटक्वाइन नै छ ।
बिटक्वइनबाहेक लोकप्रिय अन्य केही मुद्रा
बिटक्वइनबाहेक पनि अन्य केही राम्रा क्रिप्टोकरेन्सी बजारमा उपलब्ध छन् । तीमध्ये आजभोलि अधिक प्रयोग भइरहेका केहीको जानकारी यहाँ दिइन्छ –
१. रेड क्वइन : रेड क्वइन विशेष अवसरमा प्रयोग गर्न सकिने क्रिप्टो मुद्रामध्ये एक हो । यसको उपयोग मानिसलाई सल्लाह दिन गरिन्छ ।
२. सिया क्वइन : सिया क्वइन पनि वर्तमानमा धेरै प्रयोग गरिने मुद्रमा पर्छ । यो अहिले बढ्दो क्रममा छ । यो क्वइनको मूल्यमा हाल अधिक वृद्धि भइरहेको छ ।
३. यसवाइयस क्वइन (सिस्क्वइन) : यो एक क्रान्तिकारी क्रिप्टोकरेन्सी हो । यो शून्य लागतको वित्तीय लेनदेन र अविश्वसनीय गतिका साथ अघि बढिरहेको छ । व्यवसाय, सम्पत्ति तथा डिजिटल प्रमाणपत्र डेटाको सुरक्षित व्यापार गर्न यसको प्रयोग भइरहेको छ । यसले पूर्वाधार निर्माणका साथ व्यवसाय प्रदान गर्दछ । सिस्क्वइनले ब्लकचेनमा काम गर्दछ जुन बिटक्वइनकै एक अंश हो ।
४. भ्वइस क्वइन : यो एक उदाउँदो संगीतकारका लागि डिजाइन गरिएको प्लेटफर्म हो जहाँ गायकले उनीहरूको संगीतको मूल्य स्वयं निर्धारण गर्न सक्छन् । उनीहरूले निःशुल्क रूपमा संगीतको नमुना ट्र्याक प्रदान गर्न सक्दछन् । यस प्लेटफर्मको मुख्य उद्देश्य स्वतन्त्र कलाकारलाई मुद्रीकरण गर्नु हो ।
५. मोनेरो : यो विशेष प्रकारको सुरक्षा प्रयोग गरिने क्रिप्टोकरेन्सी हो । यसलाई ‘रिंग सिग्नेचर’को नामले चिनिन्छ । यसको अधिक उपयोग डार्क वेभ र ब्लक मार्केटमा हुन्छ । यो कालो वेब र ब्लक बजारमा व्यापक प्रयोग गरिन्छ । यसको सहयोगले तस्करी गरिन्छ । यो करेन्सीको प्रयोगले सजिलै कालोबजारी गर्न सकिन्छ ।
क्रिप्टोकरेन्सीका फाइदा
कुनै पनि कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । क्रिप्टोकरेन्सीका पनि फाइदा र बेफाइदा दुवै छन् । यसका बेफाइदा कम र फाइदा अधिक छन् ।
१. क्रिप्टोकरेन्सी एक डिजिटल करेन्सी हो जसमा फ्रड केसहरू धेरै कम हुन्छन् ।
२. अधिक पैसा भएको खण्डमा क्रिप्टोकरेन्सीमा लगानी गर्नु फाइदाजनक हुन्छ किनकि यसको मूल्य धेरै छिटो बढ्छ । यो लगानीको राम्रो प्लेटफर्म हो ।
३. अधिकांश क्रिप्टोकरेन्सीको वालेट उपलब्ध छन् जसका कारण अनलाइन सपिङ तथा पैसाको लेनदेन सरल भएको छ ।
४. क्रिप्टोकरेन्सी कुनै पनि एकाधिकारद्वारा नियन्त्रित छैन । त्यसैले यो करेन्सीको मूल्य घट्ने सम्भावना कम हुन्छ ।
५. त्यस्ता धेरै देश छन् जहाँ पुँजी नियन्त्रण हुँदैन । अर्थात् त्यहाँ कति पैसा देशमा भित्र्याउने र कति बाहिर पठाउने भन्नेबारे सीमा हुँदैन । त्यसकारण, क्रिप्टोकरेन्सी खरिद गरेर त्यसलाई सजिलैसँग देशबाहिर पठाउन सकिन्छ र यसलाई पैसामा रूपान्तरण गर्न सकिन्छ ।
६. क्रिप्टोकरेन्सीको सबैभन्दा बढी फाइदा त्यस्ता व्यक्तिलाई हुन्छ जसले आफ्नो धन लुकाउन चाहन्छन् । त्यसैले क्रिप्टोकरेन्सी पैसा लुकाउनसमेत उत्तम प्लेटफर्मका रूपमा देखापरेको छ ।
७. क्रिप्टोकरेन्सी मुद्रा पूर्ण रूपमा सुरक्षित छ । यसका लागि तपाईंले प्रमाणीकरण गर्नुपर्छ, किनभने यस्तो मुद्रा ब्लकचेनमा आधारित हुन्छ ।
क्रिप्टोकरेन्सीका बेफाइदा :
१. क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो बेफाइदा यसको भौतिक अस्तित्व नहुनु हो, कारण यसलाई प्रिन्ट गर्न सकिँदैन । न यो करेन्सीको नोट छाप्न सकिन्छ, न त कुनै बैंक खाता वा पासबुक जारी गर्न सकिन्छ ।
२. क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्ने कुनै देश, सरकार वा संस्था छैन, जसका कारण यसको मूल्यमा ठूलो उतार–चढाव भइरहन्छ । यसको मूल्यमा कहिले उछाल आउँछ त कहिले ठूलो गिरावट आउँछ, जसका कारण यसमा लगानी जोखिमपूर्ण छ ।
३. हात–हतियार खरिद, ड्रग्स सप्लाई, कालोबजारीजस्ता गलत कार्यमा यसको उपयोग सजिलै गर्न सकिन्छ किनभने यसको प्रयोग दुई व्यक्तिका बीचमा मात्र हुन्छ । त्यसैले यो खतरनाक पनि हुन सक्छ ।
४. यसमा ह्याक हुन सक्ने जोखिम पनि रहन्छ तर ब्लकचेन ह्याक गर्न सजिलो भने छैन । यसमा पूर्ण सुरक्षा व्यवस्था हुन्छ, यद्यपि यो मुद्राको कुनै मालिक नभएका कारण ह्याकिङ हुनबाट पूर्णतः जोगाउन पनि कठिन छ ।
५. ट्रान्जेक्सनमा केही गल्ती भएमा सच्याउन नमिल्नु यसको अर्को बेफाइदा हो । भूलवश बढी भुक्तानी गरिएमा प्रयोगकर्ताले त्यसलाई फिर्ता गराउन सक्दैन, जसले ठूलो घाटा निम्त्याउन सक्छ ।
क्रिप्टोकरेन्सी वैध कि अवैध ?
कुनै नियामक निकायको नियन्त्रणमा नहुने क्रिप्टोकरेन्सी कानुनी रूपमा वैध छ वा अवैध ? यो धेरैको दिमागमा खेलिरहने प्रश्न हो । यसको उत्तर सापेक्षिक छ । यसको वैधताको निक्र्योल तपाईं कुन देशमा बसेर यसको प्रयोग गर्दै हुनुहुन्छ भन्नेले गर्छ । यसको वैधता प्रयोगस्थलमा निर्भर हुनुको कारण विश्वका सबै देशले यसलाई मान्यता नदिनु हो ।
केही देशमा अझै पनि क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिइएको छैन, जसमा नेपाल पनि एक हो । त्यस्तै, केही देशले यसलाई ‘ग्रे जोन’मा राखेका छन्, अर्थात् त्यहाँ यसलाई न औपचारिक रूपमा प्रतिबन्धित गरिएको छ, न त यसको प्रयोगलाई मान्यता नै दिइएको छ ।
भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फण्डको कारोबार नगर्नू : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानूनी रहेको भन्दै पुनः सचेत गराउँदै आएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) ले कानुनी मान्यता नपाएको गराउँदै आएको छ ।
यस्ता करेन्सी नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको भन्दै यस्तो कारोबार गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ । ‘भर्चुअल करेन्सीरक्रिप्टो करेन्सी (स्टेबल क्वाइन समेत) पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषय समेत स्मरण गराइएको छ’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिबन्धित यस्तो कारोबारमा नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने स्वदेश तथा विदेशमा बस्ने नेपाली तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म तथा संघसंस्थ, नेपालमा दर्ता भएको कम्पनीहरु र एजेन्सीहरूले यस्तो कारोबार गर्नु गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘कुनै पनि प्रकारका भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी पिरामिडमा आधारित नेटवर्कीङ मार्केटीङ तथा हाइपर फन्डमा कारोबार गरेरगराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्नेरगराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने छ ।’




