
बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१/८२ को पुस महिनामा घरजग्गा कारोबार बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो। पुसमा देशभर ४७ हजार चार सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ।
यो अघिल्लो महिनाको तुलनामा ९.४५ प्रतिशतले बढी हो। मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ।
गत वर्ष पुसको तुलनामा पनि यो वर्ष पुसमा घरजग्गा कारोबार ४.८६ प्रतिशतले बढेको छ। गत पुसमा देशभर ४५ हजार दुई सय ७५ संख्यामा घरजग्गा किनबेच भएको थियो। घरजग्गा कारोबार बढेसँगै राजस्व पनि बढेको छ। पुसमा सरकारलाई चार अर्ब ६३ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ। यो अघिल्लो महिनाको तुलनामा एक अर्ब बढी हो।
गत पुसको तुलनामा यो वर्ष ४४ प्रतिशतले राजस्व बढेको छ। गत वर्ष पुसमा भएको घरजग्गा कारोबारबाट सरकारलाई तीन अर्ब २० करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।