बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चेक क्लियरिङ्ग तथा भुक्तानी सम्बन्धी नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
यस्ता छन् नयाँ व्यवस्था
(१) इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले रु. १० लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक मार्फत् वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नु पर्नेछ ।
साथै, फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरुको भुक्तानी समेत एकाउन्टपेयी हुनु पर्नेछ । तर, देहायको अवस्थामा उल्लेखित सीमा भन्दा बढीको रकम नगद भुक्तानी गर्न बाधा पर्ने छैनः
(क) कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न, (बैंक तथा वित्तीय संस्थाले यस व्यवस्था बमोजिम नगद भुक्तानी दिएको मासिक विवरण अद्यावधिक गर्नु पर्नेछ ।)
प्रष्टीकरण: यस प्रयोजनका लागि प्राथमिकताप्राप्त पूर्वाधार आयोजनाहरु जस्तै जलविद्युत, सडक, सञ्चार जस्ता क्षेत्रहरुमा कर्मचारी तथा श्रमिकहरुको पारिश्रमिक÷ज्याला भुक्तानी गर्न, नेपाल सरकारका विभिन्न निकाय तथा विभिन्न आयोजनाहरुमा आवश्यक मालसामानहरुको आपूर्ति गर्न, नेपाल सरकारलाई वुझाउनु पर्ने राजस्व भुक्तानी गर्न, कानुनी कारवाहीको सिलसिलामा विगो-धरौटी-जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न, नेपाल सरकारले वितरण गर्ने राहत, अनुदान वा सहायता वितरण गर्न, विप्रेषण कम्पनी-एजेन्टहरुले विप्रेषण प्राप्त गर्ने व्यक्तिहरुलाई रकम भुक्तानी गर्न, बचत तथा ऋण सहकारी संस्थालाई आफ्ना सदस्यहरुसंगको दैनिक कारोबारको भुक्तानी गर्न निवेदन लिई उल्लेखित सीमा भन्दा बढी नगद भुक्तानी दिन सकिनेछ । यस अनुसार भुक्तानी भएको रकमको विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थामा बुझाउनुपर्नेछ ।
(ख) यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबीच दैनिक कारोवार सञ्चालनका लागि नगद कारोबार गर्न ।
(१) बैंक वा वित्तीय संस्थाले खिच्ने चेकको अग्रभागको माथिपट्टीको खाली स्थानमा अनिवार्यरुपमा चेक राइटर, चेक पंच, चेक प्रोटेक्टर वा रिवन राइटर लगाउनु पर्नेछ ।
(२) विनिमेय अधिकार पत्र ऐन, २०३४ को दफा ६ मा भएको व्यवस्था बमोजिम कुनै पनि चेकमा अंक र अक्षरमा रकम फरक परेमा अक्षरमा लेखिए अनुसारको रकमलाई मान्यता दिनु पर्नेछ ।
(३)चेकको अग्रभागमा रेखाङ्कन वा रेखाङ्कन सम्बन्धी छाप र ड्रअरको छाप बाहेक अन्य कुनै किसिमको छाप लगाएका चेकको भुक्तानी गर्न सम्बन्धित संस्था बाध्य हुने छैन ।
(४) च्यातिएका, मसी लागेका, केरमेट भएका चेकको भुक्तानी गर्न सम्बन्धित संस्था बाध्य हुने छैन । (ट) भुक्तानीको लागि प्राप्त चेक नेपाली वा अंग्रेजी मध्ये कुनै एक भाषामा मात्र स्पष्ट रुपमा लेखिएको हुनुपर्नेछ ।
(५) संस्थाको नाममा खिचिएका चेक सम्बन्धित संस्था आफैले खातामा जम्मा गर्न पठाउँदा सम्बन्धित संस्थाको प्रष्ट बुझिने छाप चेकको पछाडि अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ । तर सम्बन्धित संस्थाको लागि अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो चेक खातामा जम्मा गरिदिँदा भने छाप लगाउन अनिवार्य हुने छैन ।
(६) क्लियरिङ्ग मार्फत प्राप्त नेपाल राष्ट्र बैंकका चेकको रकम जसको नाममा चेक खिचिएको हो; उसैको नामको खातामा जम्मा गर्नुपर्नेछ ।
(७) यस बैंकबाट जारी इलेक्ट्रोनिक क्लियरिङ्ग सम्बन्धमा जारी निर्देशन तथा मार्गदर्शनहरुको पालना नभएका चेकहरुको क्लियरिङ्ग तथा भुक्तानी गर्न सम्बन्धित संस्था बाध्य हुने छैन ।




