Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दुई महिनामै निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड कर्जा प्रवाह

२०८३ आश्विन ३० गते

बैंकिङ खबर /  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि भदौ मसान्तसम्म निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको हो।

यससँगै निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८३ भदौ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ।

वाणिज्य बैंकको कर्जा प्रवाह १.७ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले बढेको छ। विकास बैंकहरूको कर्जा ०.६ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा १.४ प्रतिशतले वृद्धि भएको छ।

निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो।

कुल कर्जाको ६२.८ प्रतिशत घरजग्गा धितोमा

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये घरजग्गा धितो सुरक्षणमा रहेको कर्जाको हिस्सा ६२.८ प्रतिशत छ। चालु सम्पत्तिको सुरक्षणमा आधारित कर्जाको हिस्सा १५.६ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६४.३ प्रतिशत र चालु सम्पत्तिको सुरक्षणमा रहेको कर्जाको हिस्सा १५.१ प्रतिशत थियो। यसअनुसार कुल कर्जामा घरजग्गा धितोको हिस्सा घटेको देखिन्छ।

खनिज क्षेत्रमा सबैभन्दा धेरै कर्जा वृद्धि

क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशतले बढेको छ। यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ७.६ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा ७.३ प्रतिशतले कर्जा विस्तार भएको छ।

त्यस्तै, निर्माण क्षेत्रमा ३.७ प्रतिशत, सेवा उद्योगमा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २.५ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.१ प्रतिशतले कर्जा बढेको छ।

औद्योगिक उत्पादन क्षेत्रमा कर्जा १.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.२ प्रतिशतले वृद्धि भएको छ। तर, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा ४.७ प्रतिशत र कृषि क्षेत्रमा २.२ प्रतिशतले कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ।

ट्रस्ट रिसिट कर्जा बढ्दा क्यास क्रेडिट घट्यो

कर्जाको प्रकृतिअनुसार समीक्षा अवधिमा ट्रस्ट रिसिट कर्जा ९.४ प्रतिशतले बढेको छ। विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल इस्टेट कर्जा १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको छ।

समग्रमा निजी क्षेत्रमा कर्जा प्रवाह बढे पनि कृषि तथा वित्त, बीमा र अचल सम्पत्तिसम्बन्धी क्षेत्रमा कर्जा घटेको तथ्यांकले देखाएको छ। आगामी अवधिमा कर्जा विस्तारको गति र विभिन्न क्षेत्रमा यसको वितरणले आर्थिक गतिविधिको अवस्थाबारे थप संकेत दिनेछ।