
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा झन् बढ्ने देखिएको छ । राष्ट्र बैंकले कर्जा असुली गर्दा लघुवित्त वित्तीय संस्थालाई केही निर्देशन दिएको छ ।
लघुवित्त सञ्चालन मार्गनिर्देशन अनुसार अब ऋणी समूह बैठक वा कार्यालयमा तीन पटकभन्दा बढी समय अनुपस्थित भए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घरमा जान पाउनेछन् ।
अन्यथा, एकपटक किस्ता अनियमित भएमा र ऋणी बैठक वा कार्यालयमा अनुपस्थित भएकै आधारमा लघुवित्तका कर्मचारी ऋण असुलीका लागि भन्दै ऋणीको घरमा जान पाउने छैनन् ।
त्यस्तै, कर्जा असुलीका क्रममा लघुवित्तका कर्मचारीलाई ऋणीमाथि कुनै पनि किसिमको कठोर विधि नअपनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
त्यस्तै, ऋणीमाथि धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग नगर्न, अनावश्यक रुपमा ऋणीलाई फोन नगर्न र ऋणीको परिवार, साथी तथा सहकर्मीको अपमान हुने कुनै पनि गतिविधि नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
मार्गनिर्देशनमार्फत राष्ट्र बैंकले लघुवित्तमार्फत प्रवाह भएका कर्जा सदुपयोग भएको छ वा छैन भन्ने पनि अनुगमन गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा कर्जा सही प्रयोजनमा प्रयोग नभएको भेटिए ऋणीलाई कर्जाको सही सदुपयोगका लागि अभिप्रेरित गर्नुपर्ने र ऋणीले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि प्रयोग गरेको नगदको स्रोतको अनुगमन गर्नुपर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ ।
यसरी राष्ट्र बैंकले ऋणीलाई नै मार्गदर्शनमार्फत पृष्ठपोषण गर्दा लघुवित्तहरुको खराब कर्जा नउठ्ने हो कि भन्ने कर्मचारीमा शंका उत्पन्न भएको छ ।
उसो त लघुवित्त वित्तीय संस्थाहरूमा वित्तीय जोखिम थप गहिरिँदै गएको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा पाँच प्रतिशतसम्म हुनुलाई नराम्रो मानिँदैन । तर, एक दर्जन यस्ता लघुवित्त छन् जसको निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा धेरै छ ।
लघुवित्त वित्तीय संस्थाहरूले ग्रामीण तथा सहरी क्षेत्रका निम्न आय भएका विपन्न वर्गमा स–सानो परिमाणमा कर्जा प्रवाह गर्दै आएका छन् । सानो परिमाणमा कर्जा प्रवाह गर्दा वित्तीय जोखिम कम हुने भए पनि पछिल्लो समय अर्थतन्त्र सुस्त हुँदा ऋण लिएका ग्राहकहरूले साँवाब्याज तिर्न सकेका छैनन् । यही कारण लघुवित्तहरूको स्थिति खराब बन्दै गएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा १४ दशमलव ४२ प्रतिशत छ । गत वर्ष पहिलो त्रैमासमा आत्मनिर्भरको निष्क्रिय कर्जा आठ दशमलव ५३ प्रतिशत थियो । नाडेप लघुवित्त वित्तीय संंस्थाको निष्क्रिय कर्जा गत कात्तिक मसान्तसम्म १० दशमलव ६१ प्रतिशत छ । जुन एक वर्षअघि छ दशमलव ५६ प्रतिशत थियो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा १५ दशमलव ७९ प्रतिशत पुगेको छ । जुन एक वर्षअघि १० दशमलव ८२ प्रतिशत थियो । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा १६ दशमलव १४ प्रतिशत छ । एक वर्षअघि नेरुडेको निष्क्रिय कर्जा पाँच दशमलव ५२ प्रतिशत थियो । इन्फिनिटी, स्वालम्बन र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा क्रमशः ११ दशमलव ३५ प्रतिशत, १० दशमलव ९७ प्रतिशत र १३ दशमलव ३० प्रतिशत छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः चार दशमलव ८५ प्रतिशत, १२ दशमलव ४१ प्रतिशत र १४ दशमलव ८८ प्रतिशत थियो ।
निर्धन उत्थान, एनआईसी एसिया र मातृभूमि लघुवित्त वित्तीय सस्थाको निष्क्रिय कर्जा क्रमशः १० दशमलव १६ प्रतिशत, १८ दशमलव ६८ प्रतिशत र १२ दशमलव ४० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी संस्थाहरूको निष्क्रिय कर्जा क्रमशः १२ दशमलव ३५ प्रतिशत, ११ दशमलव २२ प्रतिशत र आठ दशमलव ५५ प्रतिशत थियो ।
