
बैंकिङ खबर/ चालू आर्थिक वर्ष ०८१/८२ को मंसिर महिनामा ७० खर्ब ५७ अर्ब १६ करोड रुपैयाँबराबरको विद्युतीय भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विद्युतीय भुक्तानीसम्बन्धी तथ्यांकअनुसार मंसिरमा १४ करोड १७ लाख एक हजार संख्यामा यस्ता कारोबार भएका छन् । गत आवको मंसिरमा ४० खर्ब २८ अर्ब २४ करोड रुपैयाँको विद्युतीय भुक्तानी भएको थियो ।
विशेष गरी आरटिजिएसमार्फत हुने कारोबार बढेको देखिन्छ । गत आवको मंसिरमा आरटिजिएसमार्फत २५ खर्ब ९३ अर्ब रुपैयाँ भुक्तानी भएको थियो । चालू आवको मंसिरमा ५२ खर्ब ९४ अर्ब रुपैयाँ भुक्तानी आरटिजिएसमार्फत भएको छ ।
दोस्रो स्थानमा रहेको इलोक्ट्रोनिक चेक क्लियरेन्समार्फत चार खर्ब ५९ अर्ब भुुक्तानी भएको छ । यसैगरी, फास्टर पेमेन्ट सिस्टमबाट चार खर्ब पाँच अर्ब, मोबाइल बैंकिङबाट तीन खर्ब ८८ अर्ब र आइपिएसबाट एक खर्ब ८९ अर्ब रुपैयाँ भुक्तानी भएको देखिन्छ । डेबिट कार्डबाट ९० अर्ब ७८ करोड, एटिएम मेसिनबाट ८६ अर्ब ६४ करोड, क्युआरबाट ७२ अर्ब २९ करोड, वालेटबाट ४० अर्ब ७८ करोड रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इन्टरनेट बैंकिङबाट १७ अर्ब ६४ करोड, पोस मेसिनबाट पाँच अर्ब ९७ करोड, क्रेडिट कार्डबाट एक अर्ब ९७ करोड, शाखारहित बैंकिङबाट एक अर्ब ४७ करोड, इ–कमर्समा एक अर्ब ११ करोड, प्रिपेड कार्डबाट ९९ करोड र सीमापार क्युआरबाट १९ करोड रुपैयाँ भुक्तानी भएको छ ।



