January 10th, 2025

वित्तीय संस्था र बीमा क्षेत्रको पुँजीकरणमा ५४.५ प्रतिशत हिस्सा

बैंकिङ खबर/ नेपालको पुँजी बजारले २०८१ मंसिर मसान्तसम्म उल्लेखनीय प्रगति गरेको छ। नेपाल स्टक एक्सचेन्ज सूचकांक२०८० मंसिर मसान्तमा १९९४.६० रहेकोमा २०८१ मंसिर मसान्तमा २६८२.२९ मा पुगेको छ।नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो ।

यस अवधिमा धितोपत्र बजार पुँजीकरणमा पनि उल्लेखनीय वृद्धि भएको छ। २०८० मंसिर मसान्तमा ३०७६ अर्ब ५२ करोड रहेको बजार पुँजीकरण २०८१ मंसिर मसान्तमा बढेर रु। ४४४९ अर्ब ११ करोड पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा हाल २६७ कम्पनीहरू सूचीकृत छन्। तीमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू, ९१ जलविद्युत् कम्पनीहरू, २२ उत्पादन तथा प्रशोधन उद्योगहरू, ७ होटलहरू, ७ लगानी कम्पनीहरू, ४ व्यापारिक संस्था र ७ अन्य समूहका कम्पनीहरू छन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको धितोपत्र बजार पुँजीकरणमा ५४.५ प्रतिशत हिस्सा रहेको छ।

यसैगरी, जलविद्युत् कम्पनीको पुँजीकरणमा १५.५ प्रतिशत, लगानी कम्पनीमा ७।३ प्रतिशत, व्यापारिक संस्थामा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगमा ५।२ प्रतिशत, होटलमा २.७ प्रतिशत, र अन्य समूहमा ८।६ प्रतिशत हिस्सा छ।

२०८१ मंसिर मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ५६ करोड कित्ता शेयरको चुक्ता मूल्य ८४३ अर्ब ८१ करोड रहेको छ। आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल १३ अर्ब ७१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। यसमा ५ अर्ब ८० करोड बराबरको बोनस शेयर, रु। ३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, रु। ३ करोड ९८ लाख बराबरको एफपीओ, र रु। ३ अर्ब ९६ करोड बराबरका अन्य शेयरहरू समावेश छन्।

नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा १८ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ। यसमा रु। ७ अर्ब ७४ करोड बराबरको हकप्रद शेयर, रु। ६ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ४० करोड बराबरको डिबेन्चर र २२ करोड ५० लाख बराबरको साधारण शेयर समावेश छन्।