बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले कर्णाली प्रदेशमा ११.७९ प्रतिशत निक्षेप बढाएका छन् । नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूले ११.७९ प्रतिशत बढाएर ७५ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ पुर्याएका छन् । अघिल्लो वर्ष ११.८९ प्रतिशत बढाएर ६७ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
गत वर्ष कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २.२४ प्रतिशतले वृद्धि भई ५९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ५७ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कर्णालीमा कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८.५० प्रतिशत रहेको छ । जबकि अघिल्लो वर्ष सीडी रेसियो ८५.८३ प्रतिशत थियो ।
राष्ट्र बैंकले सल्यान, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका स्थलगत तथा रुकुम-पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्ला जिल्लाका गैरस्थलगत अध्ययनबाट तयार पारिएको आव २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदनको आधारमा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेपमध्ये बचत निक्षेपको अंश सबैभन्दा धेरै ५६.४७ प्रतिशत रहेको छ । यस्तै, मुद्दती, चल्ती र अन्य निक्षेपले क्रमशः २५.०५ प्रतिशत, १२.८७ प्रतिशत र ५.६१ प्रतिशत हिस्सा ओगटेका छन् । गत असारसम्म यस प्रदेशमा निक्षेपखाताको संख्या १२.८१ प्रतिशतले वृद्धि भई २१ लाख ९९ हजार २४९ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार गत वर्ष ऋणी खाताहरूको संख्या ४.३० प्रतिशते बढी ५३ हजार ४३० पुगेकाे छ । अघिल्लो वर्ष भने ऋणी खाताको संख्यामा २.४० प्रतिशतले कमी आएको थियो । राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या १२ हजार ६१३ पुगेको छ भने घरजग्गा रजिष्ट्रेसन वापतको राजस्व गत वर्षको तुलनामा २२.६८ प्रतिशतले कमी भई ३२ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ ।
EAR_NRB_Surkhet_Office_final_2081.09.16