December 27th, 2024

चार बैंक पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने अवस्थामा

बैंकिङ खबर/ ४ बैंकले पुस मसान्तभित्र आफ्नो साधारण सभा सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंकको साधारण सभा पुस मसान्तसम्म सम्पन्न नहुने देखिएको हो ।

यी बैंकले हालसम्म राष्ट्र बैंकबाट एजीएम क्लियरेन्स पाएका छैनन् । पुस मसान्त नजिकएसँगै यी ४ बैंकको साधारण सभा केही समय पर धकेलिने निश्चित भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कुमारी बैंकले गत वर्ष पनि समयमै साधारण सभा सम्पन्न गरेका थिएनन् ।

हालसम्म १६ वटा वाणिज्य बैंकले वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् । जसमध्ये एभरेष्ट बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ ।

यस्तै, नेपाल एसबिआई बैंकले पुस २१ गते, लक्ष्मी सनराइज बैंकले पुस २४ गते, एनएमबि बैंकले पुस २५ गते, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएका छन् । यस्तै, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएका छन् ।