बैंकिङ खबर/ पछिल्लो समय बैंकमा तरलता फालफाल भएपनि ऋण लिनेको संख्या भने अत्यन्त कम रहेको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा रकम राख्नका लागि खुलेका निक्षेप खाताको तुलनामा ऋण लिनका लागि खोलिएका खाताको संख्या पनि झण्डै ३० गुणा कम छ । यसबाट बैंकमा रकम जम्मा गर्ने धेरै व्यक्तिहरु भए पनि बैंकबाट ऋण लिने व्यक्ति अत्यन्त कम रहेको प्रष्ट हुन्छ ।
अर्कोतर्फ यसले बैंकहरुबाट सहज रुपमा कर्जा नपाइने तथ्यलाई समेत उजागर गरेको छ । बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा कर्जा खाता खोल्ने क्रम घटेकाले यस्तो अन्तर बढ्दै गएको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको कात्तिकसम्म कुल ५ करोड ७२ लाख २६ हजार ३ सय ३ वटा निक्षेप खाता खुलेका छन् । सोही अवधिमा १९ लाख १८ हजार ९ सय २६ जना ऋणीले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् । यसरी हेर्दा बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाताको तुलनामा ऋण लिने व्यक्तिको संख्या ३.३५ प्रतिशत मात्र रहेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थामा खुलेका समग्र निक्षेप खाताको तुलनामा ऋण लिनका लागि खुलेका खाताको संख्या भने २९.८२ गुणाले कम हो । २०८० को कात्तिकसम्म कुल ५ करोड २९ लाख १ हजार ३१ वटा निक्षेप खाता खुलेका थिए । सोही अवधिसम्म १८ लाख ४६ हजार ७ सय ६४ जनाले कर्जा खाता खोलेका थिए ।
गत आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको कात्तिकसम्म कर्जा खाताभन्दा बचत खाता खोल्नेहरुको संख्या झण्डै ६० गुणा बढी देखिन्छ । यसले पनि बैंकबाट सहजरुपमा कर्जा पाउन मुस्किल नै रहेको बुझिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार १ वर्षको अवधिमा ४३ लाख २४ हजार २७२ बचत खाताहरु थपिएका छन् भने ७२ हजार १६२ वटा कर्जा खाता खोलिएका छन् ।
गत कात्तिकसम्म बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाताको संख्या नेपालको कुल जनसंख्या भन्दा बढी हो । नेपालमा एकै व्यक्तिले धेरै बैंकमा पनि निक्षेप खाता खोल्न पाउने सुविधा रहेकाले पनि जनसंख्या भन्दा बचत खाताको संख्या धेरै भएको होे।
राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेका निक्षेप खाताको संख्या ४ करोड ९० लाख ४३ हजार ३९१ र कर्जा खाताको संख्या १५ लाख ९५ हजार ६४५ छ । गत आवको कात्तिक मसान्तसम्मा वाणिज्य बैंकहरुमा ४ करोड ५३ लाख ९८ हजार २०७ वटा निक्षेप खाता र १५ लाख १४ हजार १७६ वटा कर्जा खाता सञ्चालनमा थिए ।
गत कात्तिक मसान्तसम्ममा विकास बैंकहरुमा ७२ लाख ५९ हजार ६४२ वटा निक्षेप खाता र २ लाख ७९ हजार ५२७ वटा कर्जा खाता सञ्चालनमा छन् । त्यस्तै यस अवधिमा फाइनान्स कम्पनीहरुमा ९ लाख २३ हजार २७० निक्षेप र ४३ हजार ७५४ कर्जा खाता सञ्चालनमा रहेका छन् ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ३१ अर्ब ४३ करोड निक्षेप थपिएको छ भने ३ खर्ब ३ अर्ब ८० करोड कर्जा बढेको देखिन्छ । गत कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट कुल ५२ खर्ब ८० अर्ब २८ करोड ३० लाख कर्जा गएको देखिन्छ । कर्जा खाताको आधारमा १९ लाख १८ हजार ९ सय २६ जना ऋणीले बैंक तथा वित्तीय संस्थाबाट सो कर्जा लिएको भन्न सकिन्छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६६ खर्ब ७६ अर्ब बराबरको निक्षेप छ भने ५३ खर्ब ३३ अर्ब हाराहारीमा कर्जा गएको छ । निक्षेप रकमको ९० प्रतिशतसम्म बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात सीडी रेसीयो ७८.७८ प्रतिशत छ । यसका आधारमा बैंकहरुमा ६ खर्ब ७५ अर्ब भन्दा बढी लगानी योग्य रकम रहेको देखिन्छ ।