December 17th, 2024

घरजग्गा कारोबार सुधारोन्मुख

बैंकिङ खबर/ मंसिरमा घरजग्गा कारोबार सुधारोन्मुख देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा देशभर ४३ हजार ३७९ वटा घरजग्गा कारोबार (लिखत) पारित भएका छन् । यो गत वर्षको सोही महिनाको तुलनामा ३.६५ प्रतिशत बढी हो । गत वर्षको मंसिर महिनामा देशभर ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएका थिए ।

गत कात्तिकको तुलनामा भने कारोबार २९.४३ प्रतिशत बढेको देखिन्छ । गत कात्तिकमा देशभर ३३ हजार ५१४ वटा घरजग्गा खरिदबिक्री भएको थियो । चालु आवको पहिलो अर्थात् साउनमा ४३ हजार ८३५ वटा घरजग्गा किनबेच भएका थिए ।

तर, त्यसपछि भने लगातर घटेको थियो । विभागका अनुसार गत असोज महिनामा ३० हजार ५२७ वटा, भदौमा ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएका थिए ।

मंसिर महिनामा कारोबारका लागि मुख्य सिजन मानिन्छ, त्यसकारण पनि कारोबारमा केही सुधार देखिएको हो । हरेक वर्षको साउनदेखि असोज मसान्तसम्म घरजग्गा कारोबारको अफसिजन मानिन्छ ।

यो अवधिमा अन्य महिनाको तुलनामा कम कारोबार हुने गरेको छ । असोज कात्तिकमा नेपालीहरुको मुख्य ठुला चाडपर्वहरु पर्छन्, त्यसैले पनि कारोबार संख्या कम हुने गरेको छ । तुलनात्मक रुपमा चाडपर्वको सिजन सकिएसँगै विस्तारै कारोबारमा पनि सुधार आउने व्यवसायीहरु बताउँछन् ।

कारोबारमा आएको सुधारसँगै राजश्वमा पनि बढोत्तरी देखिएको छ । गत वर्षको मंसिरको तुलनामा राजश्व ३५.२४ प्रतिशत वृद्धि भएको छ । मंसिरमा देशभरको घरजग्गा कारोबारबाट कुल ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

विभागका अनुसार गत वर्षको मंसिरमा यस्तो राजश्व २ अर्ब ८६ करोड ५०० लाख ११ हजार रुपैयाँ रहेको थियो । मंसिरमा रजिष्ट्रेशन दस्तुर बापत २ अर्ब ६३ करोड ७८ लाख १२ हजार रुपैयाँ, पुँजीगत १ अर्ब ३१ करोड ६३ लाख ४३ हजार र सेवा कर मार्फत २६ करोड ६ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।