December 13th, 2024

मुद्दतीमा छैन आकर्षण

बैंकिङ खबर/ बैंकहरुमा मुद्दतीतर्फको निक्षेपको अनुपात क्रमशः घट्दै गएको छ । बैंकरहरूका अनुसार निरन्तर घटिरहेको ब्याजदरका कारण मुद्दतीमा रकम राख्न संस्थागत निक्षेपकर्ता कम आकर्षित भएका छन् । यसले कुल निक्षेपमा मुद्दती निक्षेपको अंश घट्दै गइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६४ खर्ब ९६ अर्ब थियो । कात्तिक मसान्तसम्म आइपुग्दा निक्षेप ६६ खर्ब ४४ अर्ब पुगेको छ । अर्थात्, चार महिनामा कुल निक्षेप एक खर्ब ४८ अर्ब रुपैयाँले बढेको छ ।

असार मसान्तसम्म कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ५६.०८ प्रतिशत थियो । कात्तिक मसान्तसम्म आइपुग्दा यो हिस्सा ५४.१३ प्रतिशतमा सीमित भएको छ । मुद्दतीको अंश घटे पनि साधारण बचत निक्षेपको हिस्सा भने बढेको देखिन्छ । असार मसान्तसम्म यो हिस्सा ३०.०९ प्रतिशत रहेकोमा कात्तिक मसान्तसम्म आइपुग्दा ३२.५९ प्रतिशत कायम छ ।

वाणिज्य बैंकहरूको कुल निक्षेपमा मुद्दतीको हिस्सा ५३.४७ प्रतिशत, बचतको ३२.७५ प्रतिशत, चालू निक्षेपको हिस्सा ५.८२ प्रतिशत र कल निक्षेप ७.२ प्रतिशत छ । त्यस्तै, विकास बैंकहरूको कुल निक्षेपमा मुद्दतीको हिस्सा ५७.२२ प्रतिशत, बचतको हिस्सा ३३.५६ प्रतिशत, चालू निक्षेपको हिस्सा ३३.५६ प्रतिशत र चालूको १.७२ र कल निक्षेपको हिस्सा ७.४६ प्रतिशत छ।

असारमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ६.८७ प्रतिशत थियो । मंसिरसम्म आइपुग्दा यो ब्याजदर ५.९९ प्रतिशतमा झरिसकेको छ ।