बैंकिङ खबर/ ट्रेजरी बिलमार्फत सरकारले सोमबार साढे १८ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत १८ अर्ब ५० करोड रुपैयाँ उठाउन लागेको जनाएको हो ।
कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार (मंसिर २४ गते) दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।
यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत साढे १८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।
पछिल्लो पटकको बोलकबोलमा २.९९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ३ प्रतिशत र सबैभन्दा कम २.३१ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ ।
सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट जुटाइने सरकारको योजना छ ।