December 1st, 2024

केही वर्षमै जीडिपीको ६० देखि ६५ प्रतिशतसम्म सार्वजनिक ऋण पुग्ने देखिन्छः अर्थविद् वाग्ले

 
बैंकिङ खबर/अर्थविद् अच्युत वाग्लेले राजस्वका नयाँ स्रोत फेला नपरेको भन्दै यसले राज्यलाई कमजोर बनाइरहेको बताएका छन् ।
राजस्व उठ्ने ट्रेण्ड जीडीपीको २४–२५ प्रतिशतबाट घटेर १२–१३ प्रतिशतमा झरेको भन्दै हामी राजस्व नउठ्ने अवस्थामा किन पुग्यौं भन्दै प्रश्न गरे ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तरक्रियामा उनले राजस्व नउठ्दा सार्वजनिक ऋण थप्नु परेको भन्दै यसले थप संकट ल्याउनतर्फ समेत सचेत गराए । अबको केही वर्षमै जीडीपीको ६० देखि ६५ प्रतिशतसम्म सार्वजनिक ऋण पुग्ने भन्दै यो थेग्न सक्ने अवस्था हो वा होइन भनेर विश्लेषण गर्नुपर्ने बताए ।

यी सबै समस्या आउनुको पछाडी आर्थिक व्यवस्थापकीय प्रवन्धनको अभाव रहेको उनले बताए । वाग्लेले सरकारले हात खुट्टा उठाउनु पर्ने अवस्था आउनु दुखद भएको भन्दै बलियो रुपमा प्रस्तुत हुन सुझाव दिए । अब केही गर्न सकिँदैन भन्ने मानसिकता त्याग्न उनले आग्रह गरे ।

अर्थविद् वाग्लेले निर्देशनको भूमरीमा मात्र मुलुक फसेको भन्दै निर्देशन मात्र दिनुभन्दा राज्य सञ्चालकले रणनीति ल्याएर एक्सनमा जानु पर्ने बताए । उनले गैरआर्थिक व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना गरे । कुनै पनि मन्त्रालयमा ६ देखि ७ महिना सचिव नटिक्ने अवस्था किन आउँछ भन्दै वाग्लेले प्रश्न गरे ।

राज्यले नै संघीयता स्वीकार गर्न नसकेको बताए । हामी संघीयतामा छौं भनेर किन स्वीकार नगरेको ? भन्दै उनले भने, संघीय प्रणाली अनुसारको आर्थिक प्रणालीलाई परिचालन गर्नुपर्छ भनेर सोच्दै सोचेनौं ।’