बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नयाँ निक्षेप लिन, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएपछि कर्णाली डेभलपमेन्ट बैंकले छोटो अवधिमा नै वित्तीय अवस्था सुधार गरी कारवाही फुकुवा गर्ने दावी गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै छिट्टै कारवाही फुकुवा गर्ने दावी गरेको हो । राष्ट्र बैंकले गत मंगलबार (मंसिर ११) मा उक्त बैंकलाई नयाँ निक्षेप लिन, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको थियो ।
निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम भएको लगायतका कारणले बैंकको वित्तीय अवस्था समस्याउन्मूख भएको भन्दै केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारवाहीस्वरुप उक्त कारवाही गरेको थियो । छ महिनामा भित्र बैंकको नयाँ व्यस्थापनले वित्तीय परिसुचकहरुमा सुधार गर्ने शर्तमा उक्त कारवाही गरिएको थियो । राष्ट्र बैंकले साउन ६ देखि ११ गतेसम्म बैंकको सुपरीवेक्षण गरेको थियो, त्यसको आधारमा बैंक समस्याउन्मुख देखिएको थियो । त्यसपछि केन्द्रीय बैंकले गत मंसिर ११ गते कारवाही गरेको थियो ।
त्यसपछि शुक्रबार बैंकले प्रेश विज्ञप्ति जारी गर्दै वित्तीय सुचकमा सुधार आएको दावी पनि गरेको छ । कोरोना लगायतका कारण बैंक समस्याग्रस्त भएको र सुधारको बाटोमा अघि बढेको विज्ञप्तिमा उल्लेख छ । साथै, उसले नियमित बैंकिङ कारोबार पनि भइरहेको दावी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल लगायत विश्वभरी फैलिएको कोभिड १९ महामारीको पहिलो तथा दोस्रो लहर र महामारीपछिको असरका कारण सृजित आर्थिक मन्दीका कारण आर्थिक गतिविधि शिथिल भएका कारण देशभरीका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुली प्रक्रियामा प्रतिकुल प्रभाव परेको त सर्वविदितै छ । सो सम्बन्धमा यस बैंकबाट कर्जा असुलीका सम्पूर्ण औजार प्रयोग गर्दा समेत आर्थिक मन्दी, घर, जग्गा कारोबारमा आएको मन्दी अवान्छित कार्य गर्ने समूहको अवरोध आदिका कारण केही कर्जा असुली हुन नसकेकोले निष्क्रिय कर्जा बढेका कारण नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाको शिघ्र सुधारात्मक कार्यवाही सम्बन्धी विनियमावली २०७४ बमोजिम निष्क्रिय कर्जा असुली गरी सुधार गर्नका लागि कर्जा तथा बचतमा पर्याप्त सीमाभित्र रही कारोबार गर्ने गरी शिघ्र सुधारका लागि कारवाही गरिएको हुँदा यस बैंकको कारोबारमा रोक नलगाईएको र बैंकको कर्जा असुली लगायत नियमित बैंकिङ कारोबार भई रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं ।’
राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पूँजी कोष अनुपात क्रमशः ५२.५९ प्रतिशतबाट २५.८७ प्रतिशत ऋणात्मकमा सीमित गरेको बैंकले बताएको छ । त्यस्तै, आव २०७९–८० मा ५९.३९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात आव २०८०–८१ मा ४०.८५ प्रतिशतमा सीमित भएको बैंकको दावी छ । कर्जा निक्षेप अनुपात पनि ६६.१३ प्रतिशतबाट ५५.०२ प्रतिशतमा झारिएको बैंको दावी छ । यसैगरि तरल सम्पत्ति÷कुल निक्षेप अनुपात आव २०७९–८० मा ३३.०१ प्रतिशत रहेकोमा आव २०८०–८१ सम्म आउँदा ३९.१० प्रतिशत कायम भएको बताइएको छ ।
‘यसले तरलता व्यवस्थापनमा कर्णाली डेभलपमेण्ट बैंकको सक्रियताका साथै निक्षेपकर्ताहरुका रकमहरुको सुरक्षमा उच्च प्राथमिकता रहेको कुरा दर्साउँछ,’ विज्ञप्तीमा भनिएको छ । राष्ट्र बैंकको निरीक्षणपछि निष्क्रिय कर्जा थप घटेको दावी बैंकले गरेको छ । ‘हाल आर्थिक गतिविधिमा सुधार आएसंगै २०८१ आषाढ मसान्तसम्ममा निष्कृय वर्गमा रहेका कर्जाहरु २०८१ को असोज मसान्तसम्ममा असुल उपर भै निष्कृय कर्जा २९।४९ प्रतिशत कायम राख्न सफल भैसकेको छ । अन्य निष्कृय कर्जाहरु केही निकट भविष्यमा नै असुल उपर हुने प्रक्रियामा रहेको हुँदा छोटो अवधिमा नै सुधार गरी कारवाही फुकुवा प्रक्रियामा जाने व्यहोरा सबैमा जानकारी गराउंदछौं,’ विज्ञप्तीमा भनिएको छ ।
ग्राहकको भुक्तानीमा कुनै समस्या नभएको पनि बैंकले बताएको छ । ‘यो कारवाहीले यस बैंकका ग्राहकहरुको नियमित बैंकिङ काम कारवाहीमा असर नगर्ने, निर्वाध कारोबार गर्न सक्ने र बैंकको सीडी रेसियो समेत कम्फर्टेबल रहेको हुँदा भुक्तानीमा कुनै समस्या नरहेको व्यहोरा जानकारी गराउँदै यस्ता भ्रमपूर्ण अतिरंजित समाचारको भ्रममा नपर्नु हुन र विस्तृत जानकारीका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा अध्ययन गर्न हुन सादर अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।