November 29th, 2024

यी ५ बैंक कर्जाको गुणस्तर राख्न उत्कृष्ट

बैंकिङ खबर/ निष्कृय कर्जाको व्यवस्थापन गर्न ५ बैंक उत्कृष्ट देखिएका छन् । स्ट्याण्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, ग्लोबल आईएमई र नबिल बैंक सबैभन्दा उत्कृष्ठ हालतमा देखिएका हुन् ।

उनीहरुको खुद निष्कृय कर्जा १ प्रतिशतभन्दा कम छ । यी बैंकले केही नियामकीय छुटहरुको उपयोग गरेको र अधिक मात्रामा प्रोभिजन (जोखिम बापतको व्यवस्था) राखेका कारण यस्तो देखिएको हो ।

स्ट्याण्डर्ड चार्टर्डको खुद निष्कृय कर्जा ०.२८ प्रतिशत र सिद्धार्थको ०.३३ प्रतिशत छ । यो शून्यकै स्तर हो । पछिल्लो समय नेपाली बैंकहरुको निष्कृय कर्जामा केही बढोत्तरी देखिएको भन्दै राष्ट्र बैंकले ‘खुद निष्कृय कर्जा’को विवरण सार्वजनिक गर्न थालेको छ ।

कृषि विकास बैंकको वास्तविक निष्कृय कर्जा सर्वाधिक (२.३९ प्रतिशत) रहेको देखिन्छ । त्यसपछि प्रभू, एभरेष्ट, सिटिजन्स, एनएमबी, लक्ष्मी सनराइज, एनआईसी एसिया, प्राइम र माछापुच्छ्रे बैंकसँग पनि औसतभन्दा ज्यादा खुद निष्कृय कर्जा रहेको देखिन्छ ।

राष्ट्र बैंकले असोज मसान्तसम्म बाणिज्य बैंकहरुको कुल औसत निष्कृय कर्जा ४.०४ प्रतिशत रहेको भनेको छ । खुद निष्कृय कर्जा भने औसतमा १.४२ प्रतिशतमात्रै रहेको प्रतिवेदन केन्द्रिय बैंकले प्रकाशित गरेको छ । यसरी प्रोभिजनको सुरक्षण छाता एवम् नियामकीय छुटको दायरामा कुल कर्जाको औसत २.६२ प्रतिशत रहेको देखिन्छ ।

कुल निष्कृय कर्जाको स्थिति नियाल्ने हो भने लक्ष्मी सनराइज बैंक सबैभन्दा खराब स्थितिमा छ । उसको कुल कर्जा लगानीमध्ये ५.८२ प्रतिशत निष्कृय कर्जा रहेको देखिन्छ । प्रभू र कृषि विकास बैंकको पनि निष्कृय कर्जाको दर ५ प्रतिशतभन्दा ज्यादा छ ।

ग्लोबल आईएमई, नबिल र कुमारी जस्ता विशाल कारोबार आकार भएका बैंकहरु पनि भारी मात्रामा निष्कृय कर्जा बोकेर बसेका छन् । बाँकी बैंकहरु औसत आँकडाभन्दा न्यून खराब कर्जा बोकेर बसेका छन् । सिद्धार्थ बैंक भने ०.७७ प्रतिशत मात्रै छ, जुन सबैभन्दा कम हो ।

राष्ट्र बैंकले मंसिर मसान्तसम्म निर्माण क्षेत्रमा प्रवाह भएको सबै कर्जाको भुक्तानी हुन नसके पनि निष्कृय कर्जामा गणना गर्नु नपर्ने सुविधा दिएको छ । यो सुविधाले सिमेण्ट, फलाम उद्योगदेखि हार्डवयर र निर्माण व्यवसायीसम्मलाई भाखा सार्ने सुविधा दिएको छ ।