November 27th, 2024

समस्याग्रस्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दरखास्त आह्वान

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका दरखास्त आह्वान गरेको छ ।

केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले एक सूचना जारी गर्दै समस्याग्रस्त फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकले इच्छुक योग्य नेपाली नागरिकबाट पुष २ गते मंगलबार कार्यालय समयभित्र दरखास्त फाराम पेश गर्न आह्वान गरेको हो ।

दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत) अनुभवका कागजात छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्नेछ ।

म्यादभित्र दाखिला नभएको वा रित नपुगी आएको दरखास्तउपर कुनै किसिमको कारबाही नहुने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी लेखा सम्बन्धी कार्यमा न्यूनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको वा चार्टड एकाउण्टेन्सी पास गरी ५ (पाँच) वर्षको कार्य अनुभव हासिल गरेको लेखा विज्ञ हुनुपर्ने बताएको छ ।

केन्द्रीय बैंककाअनुसार एक वर्ष आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिनेछ । दरखास्त दिने अन्तिम मिति (२०८१/०९/०२) मा उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशित गरिने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंककाअनुसार नियमानुसारको करसहित १ लाख ३ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक प्रदान गरिने छ । दशैं खर्च बापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिन सम्म प्रदान गरिनेछ । सो बाहेक अन्य कुनै प्रकारको भत्ता तथा सुविधा प्रदान गरिने छैन ।