November 26th, 2024

सामाजिक सुरक्षा कोषको कुल लगानीयोग्य रकमको ८४.६२ प्रतिशत बैंकवित्तकाे मुद्दतीमा

बैंकिङ खबर/ सामाजिक सुरक्षा कोषले कुल लगानीयोग्य रकमको ८४.६२ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीमै राखेको छ। चालू आर्थिक वर्षको असोज मसान्तसम्म कोषले ९९ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको थियो। यसमध्ये ८३ अर्ब ९३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमै लगानी गरेको छ।

सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ ले विभिन्न १२ क्षेत्रमा कोषको लगानी विविधीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। तर बैंकको ब्याजदर एकल अंकमा झरेर प्रतिफल खुम्चिँदा पनि कोषले कुल लगानीको ८४.६२ प्रतिशत रकम निक्षेपमै राखेको छ।

योबाहेक कोषले डिबेन्चरमा ३ अर्ब ७१ करोड, ट्रेजरी बिलमा ५ अर्ब ४४ करोड, विकास ऋणपत्रहरुमा १ अर्ब ९८ करोड, योगदानकर्ता सापटीतर्फ ३ अर्ब ६८ करोड र म्युचुअल फन्डमा ४१ करोड रुपैयाँ लगानी गरेको छ।

कोषले सम्भावित जोखिम आकलनसहित ८ क्षेत्रभन्दा अन्यमा लगानी विविधीकरण गर्न नसकेको हो। निक्षेपसँगै डिबेन्चर, ट्रेजरी बिल, विकास ऋणपत्र, म्युचअल फन्ड र योगदानकर्ता सापटीमा लगानी गरे पनि धितोपत्रको दोस्रोबजार तथा सूचीकृत कम्पनीहरुको संस्थापक सेयरमा लगानी गरेको छैन। अर्थात् सेयरबजार र स्थिर सम्पत्तितर्फ कोषको लगानी शून्य छ।