
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश भएको छ । बिहीबारदेखि लागू हुनेगरी उनी अनिवार्य अवकाशमा गएका हुन् ।
नेपाल राष्ट्र बैंकमा तीस वर्षे सेवा अवधि र ५८ वर्ष उमेर हद अनुसार अनिवार्य अवकाशको व्यवस्था छ । त्यस्तै, प्रथम श्रेणीका कर्मचारीदेखि माथिल्लो पदका लागि सेवा अवधिका आधारमा समेत अवकाशको व्यवस्था छ । जसअनुसार निर्देशक तहका लागि १२ वर्ष र कार्यकारी निर्देशक तहका लागि ७ वर्षको उमेर हद तोकिएको छ ।
ढकाल भने उमेर हदका कारण अवकाश पाएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्यले जानकारी दिए । अवकाशको एक महिना अघिदेखि बिदा बस्ने व्यवस्था अनुसार उनी एक महिनाअघि देखि नै जिम्मेवारीबाट अलग भएका थिए । राष्ट्र बैंकमा रहँदा उनले नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली लगायत महत्त्वपूर्ण विभागका साथै प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।


