बैंकिङ खबर/ दुई वाणिज्य बैंकहरुको लाभांश सुरक्षित गर्ने आज (मंसिर ६) अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन् ।
शुक्रबार र शनिबार शेयर बजार बन्द हुने भएकाले साताको अन्तिम कारोबार दिन आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ । आजसम्म शेयरधनी बन्नेले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमईले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान १० बजेदेखि शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यस्तै, प्राइम कमर्सियलको १७औँ वार्षिक साधारणसभा साधारणसभा मंसिर १९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र ृचालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।




