बैंकिङ खबर/ चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा साढे १२ प्रतिशतले बढाएका छन्। बैंकहरुमा तरलता थुप्रिँदा ब्याजदर घट्दै आएपछि सेयर धितो कर्जा बढ्न थालेको हो।
पछिल्लो दुई महिनामा वाणिज्य बैंकहरुबाट मात्र मार्जिन प्रकृतिको कर्जा ८ अर्ब ८० करोड रुपैयाँ थपिएको छ। यो कुल सेयर कर्जाको १२.५० प्रतिशत हो। २०८१ असारसम्म बैंकहरुबाट यस क्षेत्रमा ७० अर्ब ३४ करोड कर्जा गएकामा भदौ मसान्तसम्म आइपुग्दा ७९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट भदौ मसान्तसम्म कुल ५२ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। निरन्तर ओरालो लागेर कर्जाको ब्याज एकल अंकमा आएपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने क्रम बढेको हो।
साउन मसान्तमा नेप्से ३००० विन्दुमा पुग्दा एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँसम्मको सेयर किनबेच भएको थियो। बैंकहरुले अहिले सेयर धितो कर्जा एकल अंकको ब्याजदरमा दिइरहेका छन्। ऋणको ब्याजदर तीन वर्षयताकै सस्तो छ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँको सीमा हटाएका कारण पनि ऋण लगानी वृद्धि भएको हो।
पछिल्लो दुई महिनामा १५ वाणिज्य बैंकबाट यस क्षेत्रमा जाने कर्जा बढ्दा ४ बैंकको भने खुम्चिएको छ।
स्टान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छैन। नेपाल एसबिआइ बैंकको कर्जाको वृद्धिदर सबैभन्दा धेरै ११५.६१ प्रतिशत छ। पछिल्लो दुई महिनामा एसबिआइबाट यस क्षेत्रमा जाने कर्जा २३ करोड थपिएको छ। सेयर धितो कर्जा धेरै प्रवाह गर्नेमा कुमारी बैंक छ। बैंकले पछिल्लो दुई महिनामा यस क्षेत्रमा २ अर्ब २३ करोड कर्जा बढाएको छ।
ग्लोबल आइएमई बैंकले सेयर धितोमा २ अर्ब १६ करोड लगानी थपेको छ। सेयर धितो राखेर एभरेष्ट बैंकले भने २ करोड रुपैयाँ मात्र कर्जा बढाएको छ।
एनआईसी एसिया बैंकको सेयर धितो कर्जा सबैभन्दा धेरै खुम्चिएको छ। यो बैंकको सेयर धितो कर्जा १८.९८ प्रतिशतले खुम्चिएको हो।
बैंक | २०८१ असारम्म सेयर धितो कर्जा (रु. दश लाखमा) |
२०८१ भदौसम्म सेयर धितो कर्जा (रु. दश लाखमा) |
फरक (प्रतिशत) |
प्राइम कमर्सियल | ४,०५३.७५ | ५,२७२.७७ | ३०.०७ |
माछापुच्छ्रे | ४६७.०७ | ८४८.२९ | ८१.६२ |
नेपाल एसबिआइ | २०१.५९ | ४३४.६४ | ११५.६१ |
कुमारी | ४,३७६.२४ | ६,६०१.७६ | ५०.८५ |
कृषि विकास | १,५९१.६१ | १,५८१.७८ | -०.६२ |
प्रभु | ३,१८१.५० | ३,०९२.०२ | -२.८१ |
सानिमा | १,६५१.५३ | १,८०३.६३ | ९.२१ |
एनएमबि | ९८०.८४ | १,४६३.४४ | ४९.२० |
लक्ष्मी सनराइज | ३,३८९.४७ | ३,९९७.६८ | १७.९४ |
एनआईसी एसिया | ३,९६९.०२ | ३,२१५.७८ | -१८.९८ |
राष्ट्रिय वाणिज्य | ४,२६२.२७ | ४,०८३.४० | -४.२० |
नबिल | ११,४२७.८१ | १०,५२८.१४ | -७.८७ |
ग्लोबल आइएमई | ७,५१७.३७ | ९,६७१.४७ | २८.६५ |
स्ट्यान्डर्ड चार्टर्ड | – | – | – |
नेपाल | ६,७८०.८४ | ७,२९८.९३ | ७.६४ |
एभरेष्ट | २,०२६.९२ | २,०४३.८३ | ०.८३ |
नेपाल इन्भेष्टमेन्ट | १,८५८.२८ | २,९२७.६५ | ५७.५५ |
सिटिजन्स | ४,८०७.०२ | ५,२७५.६९ | ९.७५ |
सिद्धार्थ | ५,७८९.७८ | ७,१६६.४४ | २३.७८ |
हिमालयन | २,०११.८१ | १,८३३.७० | -८.८५ |
औसत | ७०,३४४.७२ | ७९,१४१.०४ | १२.५० |
स्रोत : नेपाल राष्ट्र बैंक