November 8th, 2024

बैंकहरुको ब्याज असुली : अझै २ अर्ब ८२ करोड बढी उठ्न बाँकी

बैंकिङ खबर/ बैंकहरुले २ अर्ब ८२ करोड बढी कर्जाको ब्याज असुली गर्न सकेका छैनन् । चालु आवको असोज मसान्तसम्म आइपुग्दा १४ वटा वाणिज्य बैंकहरुले २ अर्ब ८२ करोड ४७ लाख १४ हजार रुपैयाँ कर्जाको ब्याजदर उठाउन सकेका छैनन् ।

अघिल्लो वर्ष २० वटै बैंकले कर्जाको ब्याजदर उठाउन सकेका थिएनन् । २०८० असोज मसान्तसम्ममा २० बैंकको उठ्न नसकेको ब्याजदर १३ अर्ब ४४ करोड ९ लाख ३० हजार रुपैयाँ थियो ।

एक वर्षको अवधिमा यस्तो कर्जाको ब्याजदर १० अर्ब ६१ करोड अर्थात् ७८.९८ प्रतिशतले घटेको छ । अर्थतन्त्रमा समस्या देखिँदा बैंकको ऋण असुलीमा समस्या देखिएको छ ।

६ बैंकले भने विगतमा उठ्न नसकेको कर्जाको ब्याज अहिले उठाएका छन् । यी बैंकले १ वर्षको अवधिमा ६४ अर्ब १९ लाख ५० हजार रुपैयाँ असुली हुन नसकेको कर्जाको ब्याज अहिले उठाएका हुन् ।

सबैभन्दा धेरै उठ्न नसकेको कर्जाको ब्याज रहनेमा नबिल बैंक रहेको छ । यसले ४९ करोड ९४ लाख २७ हजार रुपैयाँ कर्जाको ब्याज उठाउन सकेको छैन । त्यस्तै, एनएमबि बैंकले ४८ करोड ७९ लाख २२ हजार रुपैयाँ ब्याज उठाउन सकेको छैन ।

यता, कुमारी बैंकको ३२ करोड र एनआइसी एसिया बैंकले ३१ करोड रुपैयाँ ब्याजदर उठाउन सकेका छैनन् । सबैभन्दा कम ब्याजदर उठाउन बाँकी रहनेमा सानिमा बैंक रहेको छ । यस बैंकले जम्मा ५८ लाख ४ हजार रुपैयाँ ब्याजदर मात्र उठाउन सकेको छैन । तथापि, १४ वटै बैंकको उठ्न नसकेको ब्याज भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

हिमालयन बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक र स्टान्डर्ड चाटर्ड बैंकले भने सबै ब्याज उठाएका छन् ।