October 29th, 2024

वाणिज्य बैंकहरुको आधारदर ७.३५ प्रतिशत मात्रै

बैंकिङ खबर/वाणिज्य बैंकहरुले कर्जाको व्याजदर निर्धारण गर्न प्रयोग गर्ने प्रमुख सूचक अर्थात् आधार दर (बेस रेट) ७.३५ प्रतिशतमा सीमित भएको छ । हालै सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासिक प्रतिवेदनले आधार दर घटेको देखाएको हो ।

असोज मसान्तसम्म २० बाणिज्य बैंकको औसत आधारदर ७.३५ प्रतिशतमा सीमित भएको हो । तथ्यांकअनुसार वाणिज्य बैंकहरुको आधार दर निरन्तर घट्दै आएको छ । गत आवको असोज मसान्तसम्म यस्तो आधार दर १०.०७ प्रतिशत थियो । त्यसपछि त्यो पुस मसान्तमा ९.५८ प्रतिशत, चैत मसान्तमा ८.७७ प्रतिशत र असार मसान्तमा ८.१० प्रतिशतमा सीमित भएको थियो ।

चालु आवको असोजसम्म आउँदा त्यो थप घटेको छ । बैंकहरुले पछिल्लो समय निक्षेपको व्याजदर निरन्तर घटाउँदै गएका छन्त्य । त्यसले गर्दा आधार दर पनि कम भएको हो । निक्षेप(कोष)को लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र संचालन लागत प्रतिशतको आधारमा बेसरेट गणना गरिन्छ । बैंकहरुले हरेक महिना आधार दर गणना गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

आधार दर सस्तो भएपछि बैंकहरुले प्रवाह गर्ने कर्जाको व्याजदर पनि सस्तो हुन्छ । उनीहरुले आधार दरमा सामान्यत ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको व्याजदर निर्धारण गर्दै आएका छन् । त्यो अवस्थामा आधार दर कम हुँदा व्याजदर पनि कम हुने गर्छ ।

कोरोना लगत्तै देखिएको लगानीयोग्य पुँजीको अभावका कारण बैंकहरुले निक्षेपको व्याजदर बढाएका थिए । निक्षेपको व्याजदर बढाउँदा आधार दर बढेर कर्जाको व्याजदर समेत बढेको थियो । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ ।

तर, कर्जाको माग भने न्यून छ । त्यसपछि बैंकहरुले निक्षेपको व्याजदर घटाउँदै आएका छन् । बिगत एक बर्षदेखि उनीहरुले व्याजदर घटाउँदै आएका हुन् । फलस्वरुप आधारदर कम हुँदै गएको छ । त्यसले कर्जाको व्याजदर पनि सस्तो हुँदै गएको छ ।पछिल्लो समय आर्थिक शिथिलताले कर्जाको माग न्यून छ ।

सामान्यत कम आधारदर कम भएको बैंकबाट सस्तोमा कर्जा पाउन सकिन्छ । असोज मसान्तसम्म आउँदा स्टाण्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम अर्थात् ५.७१ प्रतिशत मात्रै छ । त्यो अनुसार अन्य बैंकको तुलनामा उक्त बैंकबाट सस्तो व्याजदरमा कर्जा पाउन सकिन्छ ।

दोस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक छ । उक्त बैंकको आधार दर ६.१५ प्रतिशत मात्रै छ । तेस्रो स्थानमा रहेको नेपाल बैंकको आधार दर ६.७२ प्रतिशत रहेको छ । सबैभन्दा बढी आधार दर भने एनआईसी एसिया बैंक छ । उक्त बैंकको आधार दर ८.३७ प्रतिशत रहेको छ । त्योअनुसार अन्य बैंकको तुलनामा त्यो बैंकको कर्जा महंगो हुन सक्नेछ । यद्यपि, बैंकहरुले बिभिन्न स्किम तथा छुट अफर लिएर सस्तो व्याजदरमा कर्जा दिन सक्नेछन् ।