
बैंकिङ खबर/ सन्सारमै एउटा केन्द्रीय बैंकले बनाएको नीतिले अर्थतन्त्र हल्लीन सक्छ । कुनै पनि बस्तुको मूल्यमा अत्याधिक असर गर्न सक्छ । विश्व बैंकको इतिहासमा अमेरिकाको केन्द्रीय बैंकले त्यस्तै भूमिका खेल्ने गर्दछ । अमेरिकी फेडरल रिजर्भ (फेड) ले हालै संघीय कोष ब्याजदरको लक्ष्य दायरा २५ आधार बिन्दुले घटाएर ३.७५ देखि ४ प्रतिशतमा पुर्याउने निर्णय गरेको थियो । यो निर्णय यस वर्षको दोस्रो दर कटौती हो। फेडको अनुसार, हालका उपलब्ध आर्थिक सूचकहरूले अमेरिकाको आर्थिक गतिविधि मध्यम गतिमा विस्तार भइरहेको संकेत गर्छन् । तर रोजगारी वृद्धि सुस्त बन्दै गएको र बेरोजगारी दर केही बढेको देखिएको फेडले जनाएको छ ।
फेडको नीति निर्माण निकाय, संघीय खुला बजार समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी दीर्घकालीन रूपमा अधिकतम रोजगारी र स्थिर मुद्रास्फीति लक्ष्य हासिल गर्न प्रतिबद्ध छौं ।’
अर्थतन्त्रमा देखिएको सुस्ती र रोजगारका तथ्यांकमा आएको कमजोर संकेतका कारण फेडले ब्याजदर घटाउने निर्णय गरेको विश्लेषकहरूले बताएका छन्। फेडले लामो समयदेखि २ प्रतिशत मुद्रास्फीति दरलाई आफ्नो नीति लक्ष्यको रूपमा लिँदै आएको छ ।
यद्यपि, अक्टोबर १ मा सुरु भएको संघीय सरकारको आंशिक बन्दका कारण आर्थिक तथ्यांक संकलनमा समस्या देखिएको छ । यसले फेडलाई भरपर्दो डाटा अभावबीच निर्णय गर्न कठिन परिस्थिति सिर्जना गरेको बताइन्छ । फेडका अध्यक्षले अमेरिकी जनताको हितका लागि अधिकतम रोजगारी र स्थिर मूल्य प्राप्त गर्नमा फेड पूर्ण रूपमा केन्द्रित रहने बताएका छन् ।
ब्याजदर घटाएसँगै लगानी र उपभोग बढ्ने अपेक्षा गरिएको छ, जसले अमेरिकी अर्थतन्त्रलाई आगामी महिनामा केही राहत दिने अनुमान गरिएको छ ।
ब्याजदर घट्दा सुनलाई प्रत्यक्ष लाभ हुनेछ । किनकी सुनलाई सुरक्षित लगानीको रुपमा चिनिन्छ । यस्तो अवस्थामा मानिसहरूले राम्रो प्रतिफलको लागि सुनमा आफ्नो लगानी बढाउन सक्छन्। यसपछि सुनको भाउ अझ बढ्ने प्रक्षेपण गर्न थालीएको हो ।
अमेरिकाको केन्द्रीय बैंकको नाम फेडरल रिजर्व हो, जसलाई सामान्यतया फेड भनिन्छ। यो अमेरिकाको केन्द्रीय बैंक हो र देशको आर्थिक नीति र वित्तीय प्रणालीको प्रबंधन गर्दछ।
फेडरल रिजर्वको मुख्य कार्यहरुस्
मुद्रा नीति : फेडरल रिजर्वले अमेरिकाको मुद्रा नीति बनाउँछ, जसमा व्याजदर निर्धारण र मुद्रा आपूर्ति प्रबंधन समावेश छ।
बैंकिंग प्रणालीको प्रबंधन : फेडरल रिजर्वले अमेरिकाको बैंकिंग प्रणालीको प्रबंधन गर्दछ, जसमा बैंकहरुको निरीक्षण र नियमन समावेश छ।
आर्थिक स्थिरता : फेडरल रिजर्वले अमेरिकाको आर्थिक स्थिरता कायम राख्न काम गर्दछ, जसमा आर्थिक वृद्धि, रोजगारी, र मुद्रास्फीति प्रबंधन समावेश छ।
भुक्तानी प्रणाली : फेडरल रिजर्वले अमेरिकाको भुक्तानी प्रणालीको प्रबंधन गर्दछ, जसमा चेक क्लियरिङ र इलेक्ट्रोनिक पेमेंट समावेश छ ।
फेडरल रिजर्वको संरचना :
फेडरल रिजर्व बोर्ड : फेडरल रिजर्वको मुख्य निर्णय गर्ने संस्था हो, जसमा ७ जना सदस्य हुन्छन्।
फेडरल रिजर्व बैंक : फेडरल रिजर्वले १२ वटा क्षेत्रीय बैंकहरुको नेटवर्क छ, जुन देशभरि फैलिएका छन्।
इतिहासको संक्षिप्त झलक
फेडरल बैंकिङ पोलिसीमा परिवर्तन आएसँगै १९८० को दशकपछि अमेरिकामा बैंकको संख्या अपत्यारिलो ढंगले घट्यो । फेडरल रिजर्भ र अफिस अफ र कन्ट्रोलर अफ करेन्सी(ओसीसी) जस्ता नियामक निकायले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर सेवा तथा शाखा विस्तार गर्न बन्देज लगाए । त्यसै समयमा ओसीसीले स्टेट लेभल बैंकका लागि एटीएम पोलिसी, कन्जुमर फी, धितो कर्जा जस्ता व्यवस्थाहरु कार्यान्वयनमा ल्यायो । यो नीतिले साना क्षेत्रीय स्तरका बैंकहरुलाई निरुत्साहन र ठूला राष्ट्रिय स्तरका बैंकलाई प्रोत्साहन गर्यो ।
१९९० पछि कंग्रेसले पनि यही नीतिलाई थप सबल बनाउँदै लग्यो । ग्लास स्टिगल एक्ट जस्ता दीर्घकालीन बैंकिङ कानुनमा सोही नीतिलाई बढावा दिइयो । साथमा इन्भेष्टमेन्ट बैंक र कमर्सियल बैंकलाई छुट्याइयो । त्यसपछि अमेरिकाको बैंकिङ क्षेत्रमा थुप्रै मर्जर र एक्विजिसन भए । यसले क्षेत्रीय स्तरका बैंकको संख्यामा अझै गिरावट आयो । १९९० र २००० को बीचको दशकमा सिटी ग्रुप र बैंक अफ अमेरिका जस्ता ठूलो बैंकहरुले वित्तीय क्षेत्रको अधिकांश हिस्सामा कब्जा जमाए । यी बैंकहरुले इन्भेष्टमेन्ट बैंकिङ, कमर्सियल बैंकिङ, बीमा र सेयर कारोबारलाई एकै छानामुनि समेटे । यी संस्थाहरु यति वृहत भए कि नियामकले पनि यसलाई नियन्त्रण र नियमनमा ल्याउन सकेन र फलतः २००८ मा वित्तीय संकट आइलाग्यो ।
अहिले अमेरिकाको बैंकिङ क्षेत्र निकै विकसित भइसकेको छ । जेपी मोर्गन चेज, बैंक अफ अमेरिका, सिटी ग्रुप, वेल्स फार्गो आदि अमेरिकाका टप बैंकहरु हुन् ।