
बैंकिङ खबर / चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालबाट निर्यात हुने सामान साढे ७७ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिना अवधिमा (श्रावणदेखि कात्तिक) को वैदेशिक द्विपक्षीय व्यापारको तथ्यांकमा सो कुरा उल्लेख छ । उक्त अवधिमा भएको निर्यात ऐतिहासिक हो । जस अनुसार ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँबराबरको नेपाली उत्पादन विभिन्न मुलुकमा निर्यात भएको छ । यो अवधिमा १९ प्रतिशतले आयात पनि बढेको छ । तथ्यांकअनुसार यो अवधीमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँबराबरको वस्तु नेपालमा आयात भएको छ ।
अधिकाँस बस्तु भारतमा निर्यात भएको देखिएको छ । जस अनुसार सनफ्लावर तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँबराबरको निर्यात भएको छ । यस्तै बुनेको कपडा २ अर्ब १५ करोड १५ लाख रुपैयाँको भारतमा तथा २ अर्ब ७ करोड ६४ लाख रुपैयाँबराबरको कार्पेट अमेरिकामा निर्यात भएको छ । यसैगरी पाम तेल २ अर्ब ६ करोड ५० लाख रुपैयाँबराबरको भारतमा निर्यात भएको छ । चालु आर्थिक वर्षको यो अवधीमा नेपालबाट सोयाविन तेल सबैभन्दा बढी निर्यात भएको छ । उक्त तेल ३८ अर्ब ४३ करोड रुपैयाँबराबरको १८ करोड ५२ लाख ५५ हजार किलो भारतमा निर्यात भएको छ भने अलैंची ३ अर्ब ९७ करोड ४३ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।