
बैंकिङ खबर/ सरकारले वैदेशिक रोजगार बचतपत्रमा अपेक्षित लगानी भित्रिन नसकेपछि यो सेयरबजारमा समेत कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। सरकारले कार्यविधि नै बनाएर सेयरबजारमा समेत यसको कारोबार गर्न सक्ने नीति लिएको हो।
बैंक तथा वित्तीय संस्थाबाट पाउने निक्षेपको ब्याजभन्दा २.४२ प्रतिशत बढी ब्याज दिए पनि बचतपत्रमा लगानीकर्ताको आकर्षण नदेखिएपछि सरकारले थप सुविधासहित बचतपत्रमा लगानी गर्ने व्यवस्था गरेको हो।
अब श्रमका लागि विदेशिएका नागरिकले सेयरबजारमा पनि वैदेशिक रोजगार बचपतत्र लगानी गर्ने मात्रै नभएर सेयरबजारमा अन्य सेयर कारोबार गरेजसरी नै कारोबार गर्न सक्ने व्यवस्था गरेको हो।
सार्वजकि ऋण व्यवस्थापक कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको हो।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीजस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्य खालका ऋणपत्रको निष्कासन तथा सञ्चालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ’डोम्स’ र ’इन्भेस्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको छ। जसबाट अब लगानीकर्ताले सोझै बचतपत्रमा लगानी गर्न सक्नेछन्।




